नेपाली खानाको प्रवर्धन गर्न सेफ्स एशोसिएसनले तालिम दिने




काठमाडौं । नेपाली खानाको प्रवर्धन गर्न सेफ्स एशोसिएसन अफ नेपालले तालिम दिने भएको छ ।

पर्यटन वर्ष शुरु भएसँगै नेपाल आउने पर्यटक र विश्वसामू नेपाली खाना प्रवर्धन गर्न नेपाली खाना बनाउने तालिम शुरु गरिएको एशोसिएसनका अध्यक्ष खड्ग विक्रम लामाले बताए ।

सरकारले होटलको वर्गिकरण गर्दै मेन्यूमा कम्तीमा २५ प्रतिशत खाना नेपाली हुनुपर्ने मापदण्ड तोकेको छ ।

नेपाली ठेट रैथाने खानाको मेन्यू नेपालका तारे होटेलदेखि रेष्टुराँ र फास्टफुडमा समाबेश गराउने भनिएपनि अहिलेसम्म उक्त काम हुन सकेको छैन् । त्यसकारण सेफ्स एशोसिएसनले नेपाली रैथाने खानाको प्रवर्धन र संरक्षणको निम्ति तालिम दिन शुरु गरेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाली रैथाने खाना प्रवर्धन गर्न उक्त कदम चालेको अध्यक्ष लामाले स्पष्ट पारे ।

नेपाली खाना बनाउने तरिका र खानालाई आकर्षक रुपमा कसरी प्रस्तुत गर्ने विषयलाई ध्यान दिई तालिम दिन शुरु गरिएको हो ।

तालिम विभिन्न चरणमा विभिन्न समूहलाई दिइने समेत अध्यक्ष लामाले बताए । सोही योजना अनुरुप  ६ महिने कुक तालिम लिएको समुहलाइ  नेपाली खाना सम्वन्धि तालिम दिइएकाे छ ।

पहिलो चरणको तालिममा विभिन्न होटल, रेष्टुँँरा तथा फास्टफुडमा कार्यरत कुकहरुले तालिम लिएका थिए । तालिमका प्रमुख प्रशिक्षक रहेका शिवहरि घिमिरेले तालिम निकै फलदायि भएको र यस्तो तालिम आगामी दिनमा निरन्तर दिइने क्लिकमाण्डुलाई बताए ।  प्रशिक्षक घिमिरे सेफ्स एशोसिएसनका उपाध्यक्ष समेत छन् ।

साथै एशोसिएसनले विभिन्न ठाउँमा पुगि मोबाइल तालिम दिने योजना समेत बनाएको छ । कुनै होटल, रेष्टुराँ तथा इच्छुक समूहले तालिम लिन चाहेमा एशोसिएसनले सोही स्थानमा तालिम दिने अध्यक्ष लामाले बताए ।

साथै हस्पिटालिटी क्षेत्रमा काम गर्न विदेश जान चाहनेलाई समेत तालिम दिने एशोसिएसनले योजना बनाएकाे छ ।


क्लिकमान्डु