उखु कृषकको पैसा नतिर्ने उद्योगको बैंक खाता रोक्का



काठमाडौं । सरकारले उखु किसानलाई समयमै पैसा भूक्तानी नगर्ने २ चिनी उद्योगको बैंक खाता रोक्का गरेको छ । सरकारले अन्नपूर्ण सुगर एण्ड जनरल प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिको बैंक खाता रोक्का गरेको हो ।

उनीहरुले समयमै किसानको पैसा नदिएको भन्दै बैंक खाता रोक्का गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।

भुक्तानी तिराउन बारम्बार ताकेता गर्दा पनि कृषकको भुक्तानी नगरेपछि उद्योगीलाई कारबाहि प्रक्रिया शुरु गरेको मन्त्रालयको भनाइ छ । बैंक खाता रोक्का गर्न मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

मन्त्रालयका अनुसार ५ वटा उद्योगले कृषकको सबै भुक्तानी गरिसकेको छन् । उनका अनुसार हालसम्म हिमालयन सुगर मिल्स् प्रालि, इन्दुशंकर चिनी उद्योग प्राली इष्टर्न सुगर मिल्स्, रिलायान्स सुगर एण्ड केइ प्रालि र भागेश्वर सुगर प्रालिलगायत उद्योगले किसानको पैसा भुक्तानी गरिसकेका छन् ।

मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले तिरेको छ । यो मिलले माघ ५ गतेसम्म कृषकको ११ करोड ५० लाख भुक्तानी गरेको हो । उद्योगले २१ करोड ४० लाख तिर्न बाँकी रहेको छ ।

यस्तै अन्नपुर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका कृषकबाहेक सबै कृषकको भुक्तानी दिएको मन्त्रालयले जनाएको छ । यस्तै बाबा बैजुनाथ चिनी उद्योग र बाग्मति खाडसारी मिल्स् प्रालि सम्पर्कबिहीन भएका छन् । यी २ उद्योगको ८ करोड ४१ लाख रुपैंया बक्यौता छ ।


क्लिकमान्डु