स्टार्टअपः फोहोर बेचेर मोहर कमाउने ‘डोको’ आइडिया, व्यवसाय विस्तार गर्न लगानीकर्ता खोज्दै



काठमाडौं । तपाईले घरमा सिर्जित फोहोर के गर्नु हुन्छ ? पक्कै पनि फाल्नु हुन्छ होला । तर के तपाईलाई थाहा छ, त्यही फोहोरमा कति यस्ता वस्तु हुन्छन जसलाई फेरि प्रयोग गर्न मिल्छ । जसलाई बिक्री गरी आम्दानी गर्न पनि सक्नुहुन्छ ।

यही आइडियालाई साकार पार्ने काम ५ जना युवा २ वर्ष अगाडि गरेका थिए । जसको सोच उद्यममा बदलियो र जन्मियो ‘डोको’ । यही नविनतम आइडियालाई गत साता चेम्बर अफ कमर्सले प्रोत्साहन स्वरुप १ लाख ५० हजार रुपैयाँ नगदसहित पुस्तकृत समेत गर्यो ।
कम्पनीमा ५ जनाबाट हालसम्म साढे २ करोड रुपैयाँ लगानी भइसकेको छ ।

डोको तपाई हामीले जानेकै वस्तु हो । जसलाई हामी सामान बोक्न प्रयोग गर्छौ । खासगरी बाँसबाट बनाइयो डोको ग्रामीण भेगमा बढी प्रयोग हुन्छ । यसैको नाममा कम्पनीको नाम राखिएको छ । र, यहाँ डोकोलाई फोहोर संकलन गर्ने विनका रुपमा अथ्र्याइएको छ ।

कम्पनीले दैनिक जीवनमा निस्कने फोहोर जसलाई रिसाइकल गर्न सकिन्छ त्यसलाई संकलन गर्छ । जसमा पेपर, प्लाष्टिक, फलाम, ग्लास, इलेक्ट्रिोनिक्स गरी ५ वटा वस्तु र त्यसबाहेक नेपालमा रिसाइकल हुने वस्तु संकलन गरिन्छ । र, ती फोहोरलाई रिकाइकल गरी पुनः प्रयोग गरिन्छ ।

यसबाट एकातिर फोहोर फेरि प्रयोग गर्न सकियो भने वातावरणीय दृष्टिले पनि निकै फाइदा पुर्यायो । कम्पनीले पहिलो वर्ष २ सय टन फोहोर व्यवस्थापन गरेकोमा गत वर्ष ७०० टन फोहार व्यवस्थापन गरिसकेको छ ।

काठमाडौं उपत्यकाबाट उत्पादन हुने दैनिक १ हजार टन फोहोरमध्ये ३०० टन फोहोर रिसाइकल गर्न योग्य हुन्छन् । जसमा कम्पनीले हाल ३ देखि ४ टन मात्रै फोहोर दैनिक रिसाइकल गर्दै आएको छ । कम्पनीले आगामी वर्षमा १४०० टन फोहोर रिसाइकल गर्ने योजना बनाएको छ ।

संस्थाले कर्पोरेट हाउस, शिक्षण संस्था, अपार्टमेन्ट, कोलनी, उद्योग, होटल तथा घरबाट फोहोर संकलन गर्दै फोहोरबाट मोहोर आर्जन गर्दै आएको छ । कम्पनीले हाल ११० वटा संस्था तथा ३५ सयभन्दा बढी घरमा ग्राहक बनाएर फोहोर संकलन गर्दै आएको छ ।

यसका लागि कम्पनीमा पहिले रजिष्टर्ड हुनुपर्छ । त्यसका लागि केही शुल्क पनि बुझाउनु पर्छ । जस्तै, घरका लागि ८ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । भने कर्पोरेट हाउस, राजदूतावासलगायतका संस्थामा २५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्म शुल्क तोकिएको छ ।

ती संस्थाबाट सिर्जित फोहोरलाई कम्पनीले पैसा तिरेर किन्छ । र, ती फोहोरलाई रिसाइकलका लागि पठाउँछ ।

भक्तपुरको ठिमीमा रहेको ४ रोपनी क्षेत्रफलमा कम्पनीले दैनिक जसो जम्मा हुने फोहोरलाई प्रकृति अनुसार छुट्याइन्छ र विभिन्न ठाउँमा पठाइन्छ । यसका लागि कार्यालय र फिल्डमा गरी ३५ जनाले काम गरिरहेका कम्पनीका संस्थापक राजेन्द्रदेव महतोले बताए ।

कम्पनीले काम कसरी गर्छ त ?
महतोका अनुसार कम्पनीले पहिलो काम घर, कार्यालय तथा संस्थाबाट फोहोर संकलन गरी रिसाइकल गर्छ । त्यस्तै, कम्पनीले संस्थाका कर्मचारी तथा विद्यालयमा भए शिक्षक र विद्यार्थीलाई यसबारेमा तालिम दिन्छ । भने कम्पनीले त्यसवापत रिपोर्ट पनि दिन्छ ।

साथै कम्पनीले फोहोर संकलनका लागि स्मार्ट बकेट पनि उपलब्ध गराउँछ । जसमा फोहोर संकलन गरिन्छ ।

साथै महतोको अनुसार नेपालमा इलेक्ट्रिकोनिक्स फोहोर व्यवस्थापन समेत शुरु गरेको छ । नेपालमा इलेक्ट्रिोनिक्स फोहोर बढ्दै गए पनि यसलाई नेपालमा कुनै कानून नहुँदा काम गर्न समस्या भएको बताए ।

अहिले सबै इलेक्ट्रिोनिक्स फोहोर व्यवस्थापन गर्न कवाडीमार्फत मात्रै हुँदै आएको छ, तर हामीले त्यसलाई व्यवस्थित गर्न शुरु गरिसकेका छौं । यस्तो व्यवस्थापन नेपालमा व्यवस्थित तरिकाले हुँदैन ।

त्यस्तै, कुनै पनि कम्पनीका गोप्य कागज नष्ट गर्नु परेमा पनि कम्पनीले उक्त सेवा पनि दिन्छ । यो सुविधा बैंक, कर्पोरेट हाउसलाई लक्षित गरिएको छ । महतोका अनुसार ती कागजपत्रमा आगो लगाइँदैन । ती कागजपत्रलाई सुरक्षित तरिकाले वातावरणमा असर नपर्ने गरी नष्ट गरिन्छ । यसका लागि कम्पनीकै कार्यालयमा गएर सबै कागजपत्र नष्ट गर्छ ।

कम्पनीले फोहोर संकलन मात्रै गर्दैन, जिरो बेस्ड फोहोर प्रबद्र्धन हुने सामानहरु समेत बिक्री गर्छ । जसमा काठबाट बनेका एयरवड, ड्रिकिङ मेटल स्ट्र, बाँसबाट बनेको टुथब्रसलगायतका सामान समेत बिक्री गर्छ । कम्पनीले आफ्नो वेवसाइटमा मूल्यसहित सामान बिक्रीका लागि राखेको छ । महतोका अनुसार यसबाट वातावरणलाई हानी पुर्याउने फोहोर कम गर्नु उद्देश्य हो ।

कम्पनी स्थापना भएको २ वर्ष भइसक्यो । हालसम्म कम्पनीले सोचे अनुसार आम्दानी नगरे पनि घाटामा भने नरहेको महतोको भनाइ छ ।

कम्पनीले १ वर्षअघि न्यूजिल्याण्डमा काम गरिरहेको वेस्ट म्यानेजेमन्ट कम्पनीबाट लगानी ल्याउने प्रयास गरेको थियो । तर तत्कालिन समयमा नेपालमा विदेशी लगानी सम्बन्धि ऐनमा लगानीको न्यूनतम सीमाका कारण उक्त प्रयास रोकियो ।

फोहोर व्यवस्थापन गरी वातावरणीय प्रदुषण कम गराउने लक्ष्यका साथ अगाडि बढेको कम्पनी अहिले बाह्य लगानीकर्ता खोजिरहेको छ ।

कम्पनीले अहिले अमेरिका, नर्वे, स्वीस, अष्ट्रेलियन राजदूतावाससँगै डीएचएल, यूएनसीएचआर, रातो बंगला स्कुल, लिंकन स्कुल तथा सांग्रिला होटललगायतका संस्थासँग आबद्ध भइ फोहोर व्यवस्थापनको काम गरिरहेको छ ।

त्यतिमात्रै होइन, फोहोर व्यवस्थापनबारे कम्पनीले कार्यालयमै डेढदेखि दुई घण्टासम्मको सेमिनार समेत गर्दै आएको छ । महतोका अनुसार हालसम्म १ सयभन्दा बढी समूहलाई तालिम दिइसकेको छ ।

कम्पनीले फोहोर संकलन गरी छुट्टयाउँछ भने त्यसलाई विभिन्न कम्पनीमा पठाउँछ । जहाँ फोहोरलाई रिसाइकल गरिन्छ । इलेक्ट्रिोनिक्स सामग्रीहरु भने अहिले आफू व्यवस्थापन गर्दै आएको छ ।

कम्पनीले अहिले व्यवसाय विस्तार गर्नका लागि चितवन, सिन्धुपालचोक, स्वयम्भूको फोहोर व्यवस्थापनमा समेत काम गरिरहेको छ । भने धादिङ र सुर्खेत पनि व्यवसाय विस्तार गर्ने योजना बनाएको छ ।


कमलकुमार बस्नेत