अध्यागमन विभागले सच्यायो पर्यटकको संख्या, पहिले घटेका पर्यटक १५ दिनपछि ५० हजारले बढे



काठमाडौं । अध्यागमन विभागले १५ दिन वर्ष २०१९ मा नेपाल भित्रने कुल पर्यटकको संख्या ११ लाख ५२ हजार रहेको तथ्यांक पेश गर्यो । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा २० हजार अर्थात् १.७५ प्रतिशतले कमी थियो ।

अध्यागमनको उक्त तथ्यांकलाई आधार बनाएर सञ्चारमाध्यमले समाचार पनि लेखे तर अध्यागमनले उपलब्ध गराएको १५ दिनपछि सोही तथ्यांकमा हेरफेर गरिएको छ ।

अध्यागमन विभागले शुरुमा वर्ष २०१९ मा कुल ११ लाख ५२ हजार पर्यटक आएको उल्लेख गरे पनि पछि अहिले उक्त संख्या बढाएर ११ लाख ९७ हजार १९१ बनाइएको छ ।

जसमा ९ लाख ९५ हजार ८८४ जना पर्यटक हवाईमार्ग र २ लाख १ हजार ३०७ जना पर्यटक स्थलगत मार्गबाट नेपाल प्रवेश गरेका थिए ।

अध्यागमनका अनुसार सन् २०१८ को तुलनामा वर्ष २०१९ मा पर्यटक संख्या २.०५ प्रतिशतले बृद्धि भएको हो ।

भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । जसमा सरकारले सन् २०१८ ११ लाख ७३ हजार पर्यटक ल्याएको थियो । सरकारले सन् २०१९ मा १५ लाख पर्यटक र सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको थियो ।

तर सरकारको लक्ष्यविपरीत पर्यटकको संख्यामा कमी आएपछि पर्यटन बोर्ड र अध्यागमन विभागले पर्यटकको संख्या हेरफेर गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशन ईश्वरराज पौडेलका अनुसार शुरुमा स्थलगत मार्ग भइ आउने पर्यटकको संख्या भेरिफाइ नभएकाले गलत तथ्यांक बाहिर आएको स्वीकार गरे । उनले पछिल्लो पटक भेरिफाइ गरिएको तथ्यांक भएको बताए ।

कुन देशका कति नागरिक ?
१) भारत                     २५४१५०
२) चीन                     १६९५४३
३) अमेरिका                 ९३२१८
४) बेलायत                 ६११४४
५) श्रीलंका                  ५५८६९
६) थाइल्यान्ड                ४१६५३
७) अष्ट्रेलिया                 ३८९७२
८) जर्मनी                   ३६६४१
९) म्यानमार                 ३६२७४
१०) फ्रान्स                   ३०६४६


क्लिकमान्डु