पर्यटन बोर्डको सीइओको दौडबाट जोशी आउट, धनञ्जय रेग्मीको सम्भावना बलियो
काठमाडौं । नेपाल पर्यटन बोर्डको सीइओ छनोटमा पूर्व सीइओ दीपक जोशी सर्टलिस्टमै परेनन् । आइतबार छनोट समितिले ९ जनामध्ये ३ जनाको नाम सिफारिस गरेकोमा जोशीको नाम छैन ।
कुल १७ आवेदकले आवेदन दिएकोमा शैक्षिक योग्यता र अनुभवका आधारमा ९ जनाको नाम पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । ९ जनाले प्रस्तुतिकरण र अन्तर्वार्ता समेत दिएका थिए ।
जसमध्ये समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा पूर्व सीइओ जोशीलाई बलियो प्रतिष्पर्धीका रुपमा हेरिएको थियो । तर आइतबार समितिले सिफारिस गरेको ३ जनामा जोशी छैनन ।
समितिले धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मतसिंह ऐयरको नाम सिफारिस गरेको छ । स्रोतका अनुसार बोर्डको नयाँ सीइओमा रेग्मीको सम्भावना निकै बलियो छ ।
आइतबार साँझ साढे ४ बजेका लागि बोलाइएको बैठक सीइओ छनोटको प्रक्रियाका कारणले लम्बिएको थियो । जसका कारण सोमबारका लागि बैठक सारिएको छ । सोमबार पर्यटन सचिव सम्मिलित बैठकले नयाँ सीइओ छनोट गर्नेछ । पर्यटन सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीइओ नियुक्त गर्नेछ । बोर्डका सीइओको कार्याकाल ४ वर्षको हुन्छ ।
को हुन रेग्मी ?
रेग्मी वातावरण अभियानकर्मी हुन । सन् २००६ मा इन्भारोमेन्टल अर्थ साइन्समा जापानको विश्वविद्यालयबाट विद्यावारिधी गरेका रेग्मीसँग जियोग्राफी शिक्षकका रुपमा बुढानिलकण्ठ स्कुलमा अध्यापन गराएको अनुभव छ । साथै हिमालयन क्लाइमेट सेन्टर काठमाडौंमा रिसर्च असिस्टेन्ट समेतमा रुपमा काम गर्दै आएका छन् ।
पीएचडीको अध्ययन पूरा गरेपछि रेग्मीले जापान सपारोस्थित नोडाल कार्याल्यमा पोस्ट डक्टरल रिसर्च फेलोका रुपमा ग्लोवल ल्यान्ड प्रोजेक्टमा समेत काम गरेका थिए ।
उनले एरिजोना विश्वविद्यालयबाट तीन महिने डेन्ड्रोक्रोनोलोजिकल रिसर्च समेत गरेका थिए । रेग्मी अलिे त्रिभुवन विश्वविद्यालयमा जियोग्राफी विभागमा सह प्रध्यापकका रुपमा काम गरिरहेका छन् ।
सन् २००७ देखि उनी अध्यक्षका रुपमा सेर नेपालमा इकोलोजिकल रिट्रोरेसन एन्ड रेट्रोरेसन एक्टिभिटिजमा काम गरिरहेका छन् । उनी सिबानी हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष तथा हिमालयन रिसर्च एक्सपेन्डिसन नेपाल र हिमालयन नर्थ फेस रिसोर्ट लुक्लाका अध्यक्ष समेत हुन् ।