नेपाल वायू सेवा निगमको अध्यक्ष पदबाट मदन खरेलले राजीनामा दिए



काठमाडौं । नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।

आइतबार मन्त्रालयमा पुगी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई अध्यक्ष खरेलले राजीनामा बुझाएको मन्त्रालय स्रोतले भन्यो ।

‘आइतबार बिहान १० बजेतिर मन्त्रालयमा मन्त्रीज्यूलाई राजीनामा बुझाउनु भएको हो,’ स्रोतले भन्यो ।

भट्टराईले मन्त्रालय सम्हाले यता खरेलले कुनै पनि योजना नबनाएको र कार्यसम्पादन राम्रोसँग गर्न नसकेको भन्दै राजीनामा माग गर्दैै आएका थिए ।

नेपाल एयरलाइन्सको जापानको ओसाका उडानको निर्णय हतारमा गरेको र घाटा गएको भन्दै खरेलको तीव्र आलोचना हुँदै आएको थियो ।

यसअघि गत पुसको दोस्रो साता खरेललाई स्पिष्टकरण सोधिएको थियो । जसमा प्रधानमन्त्री समक्ष निगमको सञ्चालक समितिको व्यवस्थापनलाई असहयोग गरेको विषयमा कुन एजेन्डामा कसरी असहयोग गरेको भनी सोधिएको थियो ।

त्यस्तै निगमको वाइडबडी सञ्चालन सम्बन्धि तयार पारिएको व्यापारिक योजनामा जापानको टोकियोमा उडान गर्ने योजना रहेको तर नेपाल जापान बीचको हवाई सम्झौता नविकरणको दौरानमा टोकियोमा एसएलओटी नपाउने तर नारितामा पाउने भएपछि नारिताबाट ओसाका उडान नगर्नुको कारण र ओसाका उडान गर्दा पुग्न गएको क्षतीको जवाफदेही को हुन्छ भनि सोधिएको थियो ।

साथै, निगम सञ्चालक समितिको बैठकले वाइ१२ई र एमए६० विमान सञ्चालनका लागि व्यवस्थापनको प्रतिबद्धता सहितको कार्ययोजना पेश गर्न व्यवस्थापनलाई दिएको निर्देशनलाई नजरअन्दाज गरी हालसम्म कुनै पनि कार्ययोजना पेश नगर्नुको कारण के हो ?, एयरबस ३२० विमानको इन्जिन एआरओको सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको अवस्थामा र एअरबस ३३० विमानको पीबीएच सम्झौताको अवस्था के छ ? र एअरबस ३२० विमानको एपीयू बिग्रको सम्बन्धमा के भएको हो र यसको हालको अवस्था के छ, के यो स्वभाविक हो भन्दै ५ बुँदे स्पष्टिकरण सोधिएको थियो ।


क्लिकमान्डु