नयाँपन दिन नसक्दा सौराहामा ७५ प्रतिशतले पर्यटक घटे, पलायन हुने अवस्थामा व्यवसायी



चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैं एउटै पन पाउने हुँदा दोहोर्याएर आउन छाडेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको जानकारी दिनुभयो । ‘वर्षौंदेखि एउटै गतिविधि मात्र भएकाले पर्यटकको सङ्ख्या बढ्न सकेन, निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, नयाँ गतिविधि गर्न नसकीने हुँदा समस्या उत्पन्न भएको छ,’ उनले भने ।

निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् । पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकिएको जनाइएको छ ।

वर्षेनी निकुञ्ज प्रवेशको राजश्व बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहोर्याएर पर्यटक आउने क्रम घटेको छ । अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम गर्न लागेको बताउँछन् । क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनाल होटलको सङ्ख्या बढ्दै जाने तर पर्यटकको सङ्ख्या बढ्न नसकेपछि व्यवसायी धराशायी बन्दै गएको गुनासो गरे ।

व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले गुनसो गरे । नयाँ कार्यक्रम दिएर प्रचारप्रसार गर्न नसकिएमा यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउँछन् ।

सौराहा क्षेत्रबाहेक अन्यत्र जहाँतहीँ सामुदायिक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रवेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायिक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजश्व बुझाउनुपर्ने बाध्यताले खर्चिलो बनेको जनाइएको छ । सौराहा क्षेत्रमा ११५ होटल रहेका छन् । जसमा १० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानी रहेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आइदिए हुन्थ्यो भन्ने मात्र चाहना व्यवसायीमा हुँदा सङ्ख्या बढ्न नसकेको बताउँछन् । नयाँ कार्यक्रम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण एवं प्रचारप्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने उनको चिन्ता छ ।

पर्यटकीय क्षेत्रका सडक, विद्युतजस्ता पूर्वाधारमा सरकारको मुख ताके पनि अन्य गतिविधिमा व्यवसायी आफैँ अघि बढ्नुपर्ने र नयाँ प्याकेज उत्पादन गरी बजारीकरण अहिलेको अपरिहार्यता रहेको निवर्तमान अध्यक्ष घिमिरेले बताए ।

पहिले पहिले वर्षातको समयमा होटलक कर्मचारीलाई व्यापार नभएपछि बिदा दिने गरिन्थ्यो । झण्डै १० वर्षयता वर्षात्मा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएकोमा पछिल्ला वर्षमा वर्षात्को समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायी बताउँछन् ।

क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरुमा पर्यटकको आगमन बढ्न शुरु हुन्थ्यो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराई यस वर्ष भ्रमण वर्षका अवसरमा छुटका प्याकेज दिइएको भए पनि पर्यटक आगमनमा निकै कमी रहेको बताए ।

अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेको उनले बताए । विगतका वर्षहरुमा यतिबेला दैनिक १ हजार हाराहारी पर्यटक आउने गर्दथे । अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक ८ वटा बस काठमाडौँ र ४ वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन् ।


क्लिकमान्डु