छायाँदेवी कम्प्लेक्सको लागत बढ्यो, २ अर्ब ऋणका लागि रेटिङ गरायो



काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भएको छाँयादेवी कम्प्लेक्सको निर्माण लागत बढेको छ । कम्पनीले अनुमान गरेभन्दा लागत बढेपछि कम्पनीले ऋण लिने भएको हो ।

ठमेलस्थित छाँयादेवी कम्प्लेक्स प्रालिले २ अर्ब ५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा रेटिङका अनुसार कम्पनीले लिएको लङ टर्म लोन २ अर्ब रुपैयाँ र सर्टटर्म लोन ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्प्लेक्सको निर्माणमा अनुमानित लागतभन्दा ३२ करोड रुपैयाँ बढी भएको समेत जनाएको छ ।

शुरुवातमा ४ अर्ब ९५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा ३२ करोड रुपैयाँ थप लागत लागेपछि कुल लागत ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

जसका कारणले लगानीकर्ताले साढे ३२ करोड रुपैयाँ थप व्ययभार बेहोर्नु परेको छ । पहिलेको ऋणको भार तथा थप लागतको भार कम गर्नका लागि थप ऋणको आवश्यकता परेपछि कम्पनीले रेटिङ गराएको हो ।

कम्प्लेक्स पर्यटकीय क्षेत्र ठमेलमा अवस्थित छ । कुल १।७५ एकड क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा पाँचतारे होटल अल्फट होटल सञ्चालनमा छ । कम्पनीले इक्रा रेटिङ ४ पाएको छ ।

सन् २०१९ मा कम्प्लेसको ७२ प्रतिशत क्षेत्रफल रिटेल तथा व्यापारिक प्रयोजनका लागि बिक्री भइसकेको छ । बाँकी २८ प्रतिशत क्षेत्रफलमा सिनेमा हल, फुड कोर्टआदि सञ्चालनमा छन् ।

कम्पनीका मूख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, दीपकमान शेरचन, मिजार भट्टचन, शाक्य ट्रेडिङ कन्सर्न, हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड र महेश्वरप्रकाश श्रेष्ठ छन् ।


पुष्प दुलाल