६० करोड लगानीमा चितवनमा मुलुककै ठूलो रिसोर्ट एन्ड फनपार्क, सबै अर्ग्यानिक पाइने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको भरतपुर नगरपालिकामा कविलास रिसोर्ट एन्ड फनपार्क प्रालि सञ्चालनमा आएको छ ।

मुलुकमा सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको फनपार्कलाई सबैभन्दा ठूलो फनपार्क भएको दाबी गरिएको छ । कम्पनीका अध्यक्ष बाबुराम उपाध्यायले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको र यस अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिए ।

‘२५ बिघा क्षेत्रफलमा रिसोर्ट र फनपार्क सञ्चालनमा गरेका छौं, जसमा फनपार्क, वाटर पार्क, स्वीमिङ पुलसँगै ७ वटा पारिवारिक भिल्ला समेत छ,’ उपाध्यायले भने ।

२५ बिघा क्षेत्रफलमध्ये पूर्वाधार बाहेकका क्षेत्रफलमा अर्ग्यानिक खेति गरिएको छ । त्यहीको अग्र्यानिक तरकारी रिसोर्टमा प्रयोग हुन्छ भने त्यही कुखुरा र खसी पनि पालिएको उपाध्यायले जानकारी दिए ।

रिसोर्ट तथा फनपार्क मुग्लिनबाट नारायणघाट जाने बाटोमा दासढुंगा कट्ने वित्तिकै राजमार्गको देब्रेपट्टी ६०० मिटर उकालो चढेपछि रिसोर्ट पुगिन्छ । साथै जुगेडीबाट जानेहरुका लागि ३.५ किमी दूरी तय गर्नुपर्ने हुन्छ ।

कुल ६० करोड रुपैयाँ लगानी गरिएको रिसोर्टमा ७५ जनाको लगानी छ । जसमा ग्राहकको माग अनुसार मनोरञ्जनका लागि सास्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ ।

रिसोर्टबाट टाँडी, नारायणगढ, देवघाट, गैँडाकोट, कावासोती आदिका ठाउँको रमाइलो हेर्न सकिन्छ भने त्यहाँबाट ग्राहकहरुले नजिकका पर्यटकीय क्षेत्रमा जानका लागि गाडीको व्यवस्था पनि गरिएको छ ।

रिसोर्टमा विभिन्न सेमिनारलगायतका कार्यक्रम गर्न मिल्नुका साथै, बिबाह तथा पिनकिन गर्न पनि सकिने उपाध्यायले बताए । रिसोर्टमा २०० जनालाई बस्न लजिङको व्यवस्था छ भने ७ वटा पारिवारिक भिल्ला, ४ वटा सेमिनार हल समेतको पूर्वाधार विकास गरिएको छ ।


क्लिकमान्डु