नेपाल एयरलाइन्स भिजिट नेपाल २०२० को आधिकारिक एयरलाइन्स



काठमाडौं । नेपाल एयरलाइन्स ‘भिजिट नेपाल २०२०’को आधिकारिक वायुसेवा घोषणा भएको छ । बुधबार नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

जसअनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमणवर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको हो । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेवसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पु¥याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।

यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ ।

सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु