रुस्लान भोड्काको बिक्री १३% ले घट्दा गोल्डेन वकको बिक्री ६५% ले बढ्यो



काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डस्ट्रिले उत्पादन गर्दै आएको भोड्काको चर्चित ब्राण्ड रुस्लानको बिक्री १३ प्रतिशतले घटेको छ ।

कम्पनीका अनुसार सन् २०१९ मा अघिल्लो वर्ष सन् २०१८ को तुलनामा भोड्काको बिक्री १३ प्रतिशतले घटेको हो । ‘भोड्कामा अन्य ब्राण्डसँगको प्रतिस्पर्धाको कारण रुस्लानको बिक्रीमा कमी आएको छ,’कम्पनीले भनेको छ ।

रुस्लानको बिक्रीमा कमी आएपनि कम्पनीको अर्को उत्पादन ४० युपीको मदिरा गोल्डेन वकको बिक्रीमा भने ६५ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले केही महिना अगाडि जारी गरेको विज्ञप्तीमा १० लाख कार्टुन गोल्डन वक बिक्री भएको दाबी गरेको थियो ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिको सबैभन्दा बढी बिक्ने ब्राण्ड रुस्लानको बिक्री घट्दा कम्पनीको समग्रमा बिक्री समेत घटेको छ ।

ग्रुप अन्तर्गत रहेको कम्पनी जेजीआई डिस्ट्रीब्युसनका अनुसार समग्रमा कम्पनीको बिक्री १३ प्रतिशतले घटेको छ । जेजीआई जावलालेख ग्रुप अन्तर्गत रहेका मदिरा कम्पनीको बिक्रेतो हो ।
कम्पनीका अनुसार सन् २०१८ मा समग्रमा कम्पनीका उत्पादनको बिक्री १५ अर्ब २६ करोड रुपैयाँ थियो । लेखापरिक्षण नभएको सन् २०१९ को प्रतिवेदन अनुसार यो बिक्री १३ अर्ब २१ करोड हुने दाबी गरेको छ ।

जेजीआईले ४ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋणको रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको अल्पकालिन ४ अर्ब ४० करोड रुपैयाँ ऋणको लागि ‘एफोर’रेटिङ दिएको छ ।


क्लिकमान्डु