युनाइटेड फाइनान्सले साढे १० प्रतिशत लाभांश दिने
काठमाडौं । युनाइटेड फाइनान्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारणसभाले गतवर्षको नाफाबाट सेयर धनीलाई ७.५२ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाबाट पारित भएको छ । काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्तकुमार चोेैधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रालि (प्रतिनिधि रोशन अधिकारी), एमए डव्ल्यू इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णुकुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचन गरिएको छ ।
गत आवमा कम्पनीले ६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरी संचालन मुनाफा १८ करोड ५ लाख रुपैयाँ र खुद मुनाफा ९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्सलाई रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।