फेब्रअुरी ११ देखि भिस्तारा एयरलाइन्सले दिल्ली-काठमाडौं उडान गर्दै, भाडा कति ?



काठमाडौं । भारतीय एयरलाइन्स कम्पनी भिस्ताराले आगामी फेब्रुअरी ११ तारिखदेखि नेपालमा उडान शुरु गर्ने भएको छ ।

भारतीय कङलोमोरेट समूह टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले पछिल्लो समय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने क्रममा नेपालमा पनि विस्तार गरेको हो ।

भिस्ताराका लागि नेपाल पाँचौं अन्तर्राष्ट्रिय गन्तव्य हो । एयरलाइन्सले दिल्ली-काठमाडौं-दिल्ली उडान गर्नेछ ।

‘दिल्ली–काठमडौं उडान गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ, ‘भिजिट नेपाल २०२०’ मा २० लाख पर्यटक ल्याउने नेपालको लक्ष्यमा हाम्रो उडानले सहयोग गर्नेमा विश्वस्त छौं,’ भिस्ताराका प्रमुख कार्यकारी अधिकृत लेजलाइ थङगले भने ।

एयरलाइन्सले हरेक दिन उडान गर्नेछ । एयरलाइन्सका अनुसार दिल्लीबाट दिउँसो २ बजे उडान हुनेछ भने काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ४ बजे अवतरण हुनेछ । साथै काठमाडाैंबाट साँझ सवा ५ बजे उडान हुनेछ भने पाैने ७ बजे दिल्लीमा अवतरण हुनेछ ।

एयरलाइन्सका अनुसार दिल्ली-काठमाडौं-दिल्लीको भाडादर इकोनोमी क्लासको १६ हजार रुपैयाँ र काठमाडौं–दिल्ली–काठमाडौंका लागि भाडादर १६ हजार ९१८ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, बिजनेस क्लासको भाडादर दिल्ली-काठमाडौं-दिल्लीका लागि इकोनोमी क्लासको ६४ हजार रुपैयाँ र काठमाडौं–दिल्ली–काठमाडौंको भाडादर ६१ हजार ७ सय रुपैयाँ भाडा दर कायम गरिएको छ ।


क्लिकमान्डु