त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु घटे, धेरै यात्रु बोक्नेमा नेपाल एयरलाइन्स अगाडि



काठमाडौं । अन्तर्राष्ट्रिय उडानतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुको संख्यामा कमी आए पनि नेपाली विमान कम्पनीको बजारहिस्सा भने बढेको छ ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा नेपाली विमान कम्पनीको बजारहिस्सा करिब ६ प्रतिशतले वृद्धि भएको हो ।

त्रिभुवन विमानस्थलमा उडान र अवतरण गर्ने स्वदेशी र विदेशी विमान कम्पनीमध्ये सन् २०१८ को तुलनामा २०१९ मा नेपाली वायुसेवा कम्पनीले बजार हिस्सा बढाएका हुन् ।

सन् २०१९ मा कुल हवाई यात्रुमध्ये २२.३८ प्रतिशत यात्रु नेपाली वायु सेवा कम्पनीले बोकेका छन् । विमानस्थल कार्यालयका अनुसार सन् २०१९ मा कुल ४१ लाख ३८ हजार ५६३ अन्तर्राष्ट्रिय हवाई यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । जबकी सन् २०१८ मा हवाई यात्रुको सख्या यो संख्या ४३ लाख ४२ हजार ९९९ थियो ।

विमानस्थल कार्यालयका अनुसार सन् २०१९ मा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ हजार ४३९ वटा उडान तथा अवतरण भएका छन् । सन् २०१८ मा कुल ३३ हजार ९३१ वटा उडान र अवतरण भएका थिए ।

त्यस्तै, सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ लाख ४५ हजार १३७ जना हवाई यात्रु विदेशिएका थिए । सन् २०१८ मा यो संख्या २१ लख ६८ हजार ६१५ थियो । साथै नेपाल भित्रने यात्रुको संख्यामा सन् २०१९ मा १८ लाख ९३ हजार ४३६ थियो भने सन् २०१८ मा यो संख्या २१ लाख ७४ हजार ३८४ थियो ।

नेपाल एयरलाइन्स नम्बर वान
गत वर्ष जस्तै सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्समा नेपाल एयरलाइन्स अगाडि देखिएको छ । सन् २०१८ मा सबैभन्दा बढी ४ लाख ८१ हजार ९७९ यात्रु बोकेको नेपाल एयरलाइन्सले सन् २०१९ मा ७ लाख ३५ हजार ८३५ यात्रु बोकेको छ । यो कुल हवाई यात्रुको संख्यामा १७.८ प्रतिशत हो ।

त्यस्तै, सबैभन्दा धेरै यात्रु बोक्ने दोस्रो स्थानमा कतार एयरवेजले ४ लाख ६२ हजार ३९ यात्रु बोकेको छ भने तेस्रो स्थानमा फ्लाइ दुबइले २ लाख ७४ हजार ६८८ यात्रु बोकेको छ । चौथो स्थानमा रहेको एयर इन्डियाले २ लाख ५५ हजार ५८ यात्रु र पाँचौ स्थानमा एयर अरेबियाले २ लाख २८ हजार ९२९ हवाई यात्रु बोकेको छ ।

नेपाली एयरलाइन्समध्ये हिमालयन एयरलाइन्सले सन् २०१८ को तुलनामा सन् २०१९ मा यात्रुको संख्या घटेको छ । सन् २०१८ मा कुल २ लाख २४ हजार १५३ यात्रु बोकेकोमा सन् २०१९ मा १ लाख ७६ हजार ३९२ यात्रु बोकेको छ ।

त्यस्तै, भारतको कलकत्ता र वाणरसीबाट बुद्ध एयरले सन् २०१९ मा १४ हजार २०३ यात्रु बोकेको छ । बुद्ध एयरले सन् २०१८ मा ४ हजार ३९६ यात्रु बोकेको थियो । अहिले बुद्ध एयरले कलकत्ता उडान बन्द गरिसकेको छ ।


क्लिकमान्डु