श्रमका लागि स्पेन नयाँ गन्तव्य बन्छ- श्रममन्त्री यादव



काठमाडौं । नेपालीका लागि श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले बताएका छन् ।

श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनसहितको उच्चस्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसँग श्रमका लागि सहकार्य गर्न आफूहरु आतुर रहेको बताए ।

जवाफमा स्पेनका पर्यटन तथा खेलमन्त्री सरकार पनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताएका थिए ।

उनले निकट भविश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले उच्चस्तरीय टोलीमार्फत् नै मन्त्रीलाई नेपाल आउन निम्ता समेत दिए ।

पर्यटन बर्ष २०२० को शुरुवातसँगै स्पेनको एक्स्ट्रिमुरा सरकारका पर्यटनमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्चस्तरीय टोलीलाई स्वागत गर्दै श्रममन्त्री यादवले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिए ।

त्यसैगरी स्पेनकी पर्यटनमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफूहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास व्यक्त गरे ।


क्लिकमान्डु