बुटवल पावर अगाडिको फोहोरले चिन्तित मेयरले भने- ठूलो घर बनाउनेलाई बाटोको चिन्ता हुँदैन ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन् ।

यसअघि वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले वडा नम्बर १० का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।

आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माण र कामको प्रत्यक्ष जानकारी लिन अनुगमन थालेको मेयर शाक्यले बताए ।

‘भएका कामको अवलोकनसँगै गर्न बाँकी कामको कार्ययोजना बनाएर योजनाबद्ध रुपमा अघि बढ्नका लागि मैले प्रत्येक वडाको निरीक्षण थालेको हुँ,’ बुद्धनगरमा स्थानीय मतदातासँगै भेटिएका मेयर शाक्यले भने, ‘एकीकृत विकास हुनुपर्छ भनेर हामी लागेका छौँ ।’

जनताको चाहना पनि त्यही छ । तर, कतिपय ठाउँमा मेलम्ची खानेपानी, सडक विभागलगायतले खन्ने–पुर्ने काम गर्दा समस्या भएको छ ।’ उनले खाल्टाखुल्टी, पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्न लगाउने जस्ता निर्देशन पनि निरीक्षणका क्रममा दिने गरेको बताए ।

बुटवल पावर कम्पनी नजिकैको चार तले घर नजिकै थुपारिएको फोहोरको डंगुर देखाउँदै मेयर शाक्यले भने– ‘यति ठूलो घर बनाउने घरधनीले बाटो पनि हाम्रो हो भन्ने हेक्का राख्ने हो र जनप्रतिनिधिको मात्र मुख नताक्ने हो भने सरह निकै सफा हुने थियो ।’

मेयर शाक्यले वडा नम्बर–१० लाई यो आर्थिक वर्षमा मात्रै ३ करोड रुपैयाँ विनियोजन गरेको भन्दै अझै थप १ करोड ५० लाख दिने भएकाले बजेट नभएर काम भएन भन्ने सुन्नु नपरोस भन्ने कामना समेत गरे ।

‘अब सडक वरीपरीका पेटीहरु महानगरपालिकाले नै मर्मत गर्ने तयारी भएको छ,’ उनले भने, ‘बजेट जति चाहिन्छ माग्नुहोस तर जन अपेक्षा अनुसार काम गर्ने कुरामा कमजोरी नहोस् ।’

मेयर शाक्यले निरीक्षणकै क्रममा बुद्धनगर आधार विद्यालय निर्माणको कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिए । वडा सदस्य तण्डुकारले सो विद्यालयमा गरिब, सुकुम्वासी, घरेलु श्रम गर्नेका बाल–बच्चा अध्ययन गर्ने भएकाले उक्त विद्यालयको शिक्षामा पनि ध्यान दिने बताए ।

त्यसैगरी मेयर शाक्यले सिद्धेश्वर महादेव मन्दिर नजिकैका दुई ओटा घरले सडक नै मिचेर संरचना बनाएपछि तत्काल हटाउन वडा सदस्यलाई निर्देशन दिए ।

वडा सदस्य तण्डुकारले पनि नगर प्रहरी लगाएर तत्काल हटाउन लगाउने प्रतिवद्धता व्यक्त गरे ।

मेयर शाक्यले वडा निरिक्षणका क्रममा विभिन्न वडामा भएका सार्वजनिक जग्गाहरुको समेत लागत राख्ने र वडावासीको माग अनुसार हरियाली प्रर्वद्धन गर्दै कतिपय स्थानमा पार्क निर्माण गर्ने समेत महानगरको योजना रहेको बताए ।

‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’

उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने बताए ।

अनुगमनकै क्रममा युएन पार्क नजिक भेटिएका पवित्र उपभोक्ता समाजका अध्यक्ष अच्युतराज ज्ञवालीले मेयर शाक्यसहितको टोलीलाई आफ्नै घर–दैलोमा देख्न पाउँदा खुशी लागेको बताए ।

‘जनप्रतिनिधि निर्वाचनपछि अर्काे निर्वाचनका बेलामा मात्रै देखिन्छन । तर, मेयरज्यु यसरी मतदाताको घरदैलोमा विकास निर्माणका कामबारे जानकारी लिन आउनु खुशीको कुरा हो,’ उनले भने, ‘यो नयाँ बस्ती हो । ललितपुर र काठमाडौँको सिमानामा छौँ । कालापानीको जनता जस्तै भएका छौँ । मेयरज्यु आएर यहाँ भएको विकासबारे जानकारी लिनुभयो । आशा गरौँ धेरै कुरा समाधान हुनेछन ।’

उनले नयाँ बस्ती भएकाले ढल, पानी, सीसी क्यामेरालगायतको व्यवस्था नहुँदा समस्या भएको भन्दै मेयर शाक्यलाई योजना बनाएरै विकासको काम अघि बढाउन सुझाव दिए ।

‘हरेक हप्ता यो टोलमा आफैँ सरसफाई गर्दै आएका छौँ,’ उनले भने, ‘पहिलाभन्दा त धेरै काम भएको छ । तर, अझै छिटो कामले गति लिने हो भने हामी सन्तुष्ट हुने थियौँ ।’


क्लिकमान्डु