सहकारीमा एउटै व्यक्ति वर्षौ नेतृत्वमा रहने प्रणाली हटाउँछौंः मन्त्री अर्याल



ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले यस्तो बताएकी हुन ।

सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशिलता, व्यवसायिकतामा जानुपर्ने बताइन् । राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागु गरेर जानुपर्ने बताइन ।

सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्मशिलता भएको उनको भनाई छ । ‘सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ । वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ । त्यसका निम्ती उद्मशलता र व्यवसायिकता हो’, मन्त्री अर्यालले भनिन् ।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्मशिलतामा जान सम्भव हुने उनको भनाई थियो । त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ ।

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताइन् । ती गरिबी निवारणका कार्य स्थानीय तहबाट गर्नुपर्ने मन्त्री अर्यालको भनाई छ ।

स्थानीय स्तरमा आफ्नो ठाउँको पहिचान गरेर गरिबी निबारणका कार्यक्रम गर्न समेत मन्त्री अर्यालले सहकारीलाई आग्रह गरिन् ।

सहकारीमा उद्मशिलता नारा बनाएर जान सुझाब दिँदै मन्त्री अर्यालले भूगोलमा काम शुरू गरिहाल्न आग्रह गरिन् । राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले एउटा नतिजा दिनेगरी सहकारी अगाडी बढ्नुपर्ने बताइन् ।

सहकारीले उद्मशिलताका क्षेत्रमा काम गर्नेक्रममा आइपर्ने विभिन्न कानूनी बाधाहरूलाई मन्त्रालयले सहजिकरण गर्दै आएको उनकाे भनाइ छ । सहकारीमैत्री कानून निर्माण पहिलो शर्त भएको भन्दै मन्त्री अर्यालले सहकारी अभियन्ताहरूले दिएको सुझाबको मनन गरिने बताइन् ।

मन्त्री अर्यालले भनिन् ‘काम गर्न चाहदा हाखुट्टा बाँध्ने कानून फ्याक्ने अभियानमा छौ । सहकारीमैत्री कानून पहिलो शर्त हो । यसवर्ष सहकारीमैत्री कानून बनाउने कुरा सम्पन्न गरौं ।’

बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या अत्यधिक बढी भएकोले संख्या बढी हुँदा प्रगतीमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियान जानुपर्ने मन्त्री अर्यालले भनाई छ । अब संस्थाको संख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र बिस्तार गर्ने अभियान लाग्नुपर्ने उनको भनाई थियो ।

भोलीको सम्भावित जोखिमको विश्लेषण आजै गरेर सचेत हुनुपर्ने भन्दै उनले त्यसलाई मर्जर गरेर कम बनाउने र निस्कृय रहेका संस्थाको खारेजीमा जानुपर्ने बताइन । ‘एउटा संस्थाहरूबीचमा मर्जर गरेर संख्या घटाउने र दोस्रो निस्कृय रहेका संस्थाहरूको लेखापरिक्षण नगर्ने, प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने संस्थाहरू राखिराख्न पर्दैन’, मन्त्री अर्यालले भनिन् ‘यसरी संख्या घटाउन सकिन्छ । तपाइहरू आँट गर्नु, फाइलहरू खोज्नुस । सहकारी आन्दोलन जोगाउन ध्यान दिनुस । बिग्रनलाई धेरै संख्या चाहिदै चाहिदैन ।’

एउटै संस्थामा एउटै व्यक्तिले वर्षौवर्ष नेतृत्वमा रहिरहने कारणले पनि संस्था प्रगतिमा नजाने भन्दै उनले एउटै नेतृत्व रहिरहने कुरालाई निरुत्साहित गर्दै नेतृत्व हस्तान्तरणमा जानुपर्ने बताइन् ।

समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीलाई डिजिटलाइज्ड गर्ने कुरा लागु गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन । अब सहकारी सिस्टमबाट चलाउनुपर्ने भन्दै उनले अन्तर सहकारी चेक सटाइको व्यवस्था लागु गरिनुपर्ने बताइन् ।


क्लिकमान्डु