साढे ३१ करोड लगानीमा खानेपानी आयोजना शुरु, घण्टौँ लगाएर खोलामा जानुपर्ने दिन सकिए



रोल्पा । रोल्पा नगरपालिकामा बृहत् खानेपानी योजना शुरु भएको छ । नगरपालिकाका वडा नं १, २ र ४ मा उक्त आयोजना सञ्चालन गरिएको हो । खानेपानीको समस्या भोग्दै आएका नगरवासीमा खानेपानी योजनाको काम शुरु भएपछि खुशियाली छाएको छ ।

आयोजनाबाट उक्तमा रहेका एक हजार ६० घरधुरीका पाँच हजार ८०७ जनसङ्ख्या लाभान्वित हुने बताइएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाको कूल लागत रु ३१ करोड ५२ लाख ४२ हजार ९६४ रहेको छ ।

आयोजनाका लागि ७० प्रतिशत रकम एशियाली विकास बैंकको ऋण सहायताबाट व्यहोरिने छ ।

यस्तै २५ प्रतिशत रकम नगर विकास कोषबाट खानेपानी उपभोक्ता समितिले ऋण लिएर व्यवस्थापन गरिने भएको छ । पाँच प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद लगानी गर्ने भएका छन् । आयोजनाबाट सम्पवेल चार, रिजरवयर ट्याङ्की आठ र कार्यालय भवन निर्माण हुने लिवाङ बजार खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए ।

आयोजनाको मुख्य लाइन १० किलोमिटर र शाखा लाइन ४७ किलोमिटर हुने बताइएको छ । आयोजनाले एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भएको छ । खानेपानीको उचित व्यवस्थापनको अभाव झेल्दै आएका नगरवासीमा आयोजनाले खुशी ल्याएको नगरवासीको भनाइ छ ।

‘विद्यमान योजना निकै पुराना भएका कारण खानेपानी आपूर्तिमा असहजता हुँदै आएको थियो,’ स्थानीय तीर्था आचार्यले भने, ‘खानेपानीको अनिश्चितता तथा सरसफाइका लागिसमेत घण्टौँ लगाएर खोलामा जानुपर्ने बाध्यता छ ।’


पुष्प दुलाल