बुटवलमा २५ करोडको लगानीमा होटल ‘दा फ्लेमिंगो’, ६ महिनाभित्र सञ्चालनमा आउने



 बुटवल । बुटवलमा ६ महिनाभित्रमा स्तरीय होटल ‘दा फ्लेमिंगो’ सञ्चालनमा आउने भएको छ ।

बुटवल उपमहानगरपालिका– ११ मा अहिले होटलको अन्तिम चरणको निर्माण कार्य जारी छ । युवा व्यवसायी दिलिप गौचनले सो होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

होटलमा जग्गा बाहेकको लगानी २५ करोडभन्दा बढी हुने गौचनले बताए ।

‘जसमा ८ देखि १० करोडसम्म बैंकको ऋण हुन्छ भने बाँकी रकम इक्विटीको रुपमा रहन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

होटल ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । पारिवारिक रुपमा इँटा व्यवसायमा संलग्न गौचनले पहिलोपटक होटल व्यवसायमा हात हालेका हुन् ।

‘थकालीको पहिचान सेवा क्षेत्रमा भएपनि आफूहरु उद्योगमा रहेको लगानीलाई विविधिकरण गर्दै सेवा क्षेत्रमा प्रवेश गरेको हो,’ गौचनले थपे ।

बैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भएपनि पछिल्लो समय दशैं र तिहारको कारण निर्माण कार्य ढिला हुँदा असारसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

‘होटलमा अहिले कोठाहरु सजावटको काम चलेको छ, ढिलोमा असारसम्ममा सञ्चालनमा ल्याइसक्छौ,’ गौचनले थपे ।

होटलमा ५० वटा कोठासहित एउटा ब्याङ्केट हल हुनेछ भने अर्को मिटिङ कक्ष समेत हुनेछ ।

भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि रुपन्देही क्षेत्रमा होटल निर्माणको काम अगाडि बढेको हो । ५ तारे होटलदेखि स्तरीय होटलको निर्माण पछिल्लो समयमा बढ्दै गएको छ ।

आर्थिक रुपमा व्यवसायिक हव बनेको र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि होटल क्षेत्रमा लगानी गरेको गौचन बताउँछन् ।

नेपाल भ्रमण वर्षले पर्यटकको संख्या बढ्ने अपेक्षामा भैरहवामा होटल क्षेत्रमा लगानी गरेको गौचन बताउँछन् । होटलको व्यवस्थापन भने नेपालीले नै समाल्ने छन् ।

‘हस्पिटालिटी क्षेत्रमा राम्रो सम्भावना देखेको कारण भिजनसहित प्रवेश गरेका हौ,’ गौचनले भने ।

२० वर्षदेखि पारिवारिक रुपमा रहेको इँटा व्यवसायको दायारालाई होटलमा फैलाउन खोजेको उनको भनाइ छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समयमा आएमा बुटवल क्षेत्रमा होटलको ठूलो सम्भावना देखिएको गौचन बताउँछन् ।

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्बाउन सकेमा बुटवल क्षेत्रमा होटलको व्यवसाय अझ फस्टाउन सक्ने उनीको तर्क छ ।


क्लिकमान्डु