साढे ७ लाख मर्सिडिज कार कम्पनीले फिर्ता बोलायो, समस्या के ?




काठमाडौं । विश्वकै आरामदायी र महंगोमध्येको एक चर्चित कार मर्सिडिज गाडी उत्पादक कम्पनीले बजारमा पठाएका कारमा समस्या देखिएपछि फिर्ता बोलाउने निर्णय गरेको छ ।

जर्मनको गाडी निर्माता कम्पनी डायम्लर एजीले अमेरिकामा बिक्री भएका ७ लाख ४४ हजार युनिट मर्सिडिज बेन्ज कार फिर्ता बोलाएको हो ।

कम्पनीले दिएको जानकारी अनुसार २००१ देखि २०११ मोडल वर्षका गाडीमा समस्या देखिएपछि गाडी फिर्ता बोलाउन लागेको हो ।

गाडीमा जडान गरिएको सनरुफमा केही समस्या देखिएका कारण उक्त संख्यामा गाडी फिर्ता हुन लागेका हुन् ।

फिर्ता भएका गाडीमा कम्पनीले ग्लास प्यानल बोन्डिङ निरीक्षण गर्ने र आवश्यक परेमा सलाइडिङ रुफ परिवर्तन गरिदिने जनाएको छ ।  यसरी फिर्ता बोलाइएका गाडीहरुमा सि–क्लास, सिएलके क्लास, सिएलएस क्लास र इ–क्लास मोडल लाइनका कार छन् ।


क्लिकमान्डु