मुक्तिनाथ विकास बैंकले एकैदिन १८ ठाउँमा शाखा विस्तार गर्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको उद्घाटन गरेको छ ।

बैंकले काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनीमा शाखा उद्घाटन गरेको हो ।

साथै, लमजुङ्गको बेसीसहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा समुद्घाटन गरेको हो ।

शाखाको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरे ।

त्यसैगरी, अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधीकारीको उपस्थिती थियो ।

साथै, बैंकले देशका ७ प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ ।

जसमध्ये विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँमा डस्टबिन वितरण गर्यो ।

बैंकले तराईका शीतलहरबाट प्रभावित क्षेत्रमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत् सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग समेत गरेको छ ।

यसैगरी बैंकले बाग्मती सरसफाइ, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामग्री पनि वितरण गरेको छ । यसैअन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ ।

बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङको धादिङ बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको हो ।

बैंकले रक्तदान कार्यक्रमबाट कुल ४३० पोका रगत संकलन गरेको छ । बैंकले यस वार्षिक उत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि कुल ८ लाख रुपैयाँ बराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत् ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु