पर्यटन बोर्डको सीइओमा ९ जना सिफारिस, प्रस्तुतिकरणका लागि बोलायो



काठमाडौं । नेपाल भ्रमण वर्षको शुरुवातमा सीइओबिहीन भएको पर्यटन बोर्डमा सीइओ नियुक्तीको प्रक्रिया शुरु भएको छ ।

सीईओका लागि गरिएको विज्ञापनमा १७ जनाले आवेदन दिएका थिए । जसमध्ये ९ जनाको नाम सर्टलिस्टमा परेका थिए । जसमा यसअघिका सीइओ दीपकराज जोशी समेत छन् ।

जोशीको कार्यकाल सकिएपछि थप गरिएको ३ महिनाको समयलाई अस्वीकार गरी पुन: कार्यकारी पदका लागि आवेदन दिएका थिए ।

छनोटमा परेका ९ जनाको प्रस्तुतीकरण माघ २ र ३ गतेका लागि तोकेको छ |

जसमध्ये माघ २ गते बिहान ८ बजे काशीराज भन्डारी, दीपक सिवाकोटी र दीपकराज जोशीका लागि तोकिएको छ भने सोही दिन दिउँसो ४ बजे धनन्जय रेग्मी, नबिन पोखरेल र बच्चु नारायण श्रेष्ठका लागि तोकिएको छ ।

त्यस्तै माघ ३ गते बिहान ८ बजेका लागि रोहिणीप्रसाद खनाल, सन्तोष बिक्रम थापा र हिकमत सिंह ऐरका लागि प्रस्तुतीकरणका लागि समय तोकिएको छ ।

यती समूहको प्रभाव
यती समूहको प्रभाव पर्यटन बोर्डमा पनि देखिएको छ । यती समूहले पर्यटन बोर्डमा समेत हस्तक्षेप गदै आएको छ । २ वर्षअघि यती समूहकै जोडबलमा राजेन्द्र सापकोटा बोर्डको सञ्चालक नियुक्त भएका थिए ।

त्यसपछि यती समूहकै लबिङमा कृष्ण अर्याल पर्यटन बोर्ड सदस्यका रूपमा नियुक्ति पाए । पछिल्लो समय ‘भिजिट नेपाल २०२०’ को सदस्यसचिवका रूपमा पर्यटनमन्त्री योगेश भट्टराईले बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेका छन् ।

श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । श्रेष्ठ लामो समयदेखि यती समूहको सल्लाहकारको भूमिकामा छन् । उनले तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकारसमेत भएर कार्य गरेका थिए ।


क्लिकमान्डु