विश्वप्रसिद्ध हार्ड रक क्याफे बैशाखदेखि दरबारमार्गको शेर्पा मलमा



काठमाडौं । दुई अमेरिकी नागरिकले झण्डै ५० वर्षअघि लन्डनमा शुरु गरेको विश्वप्रसिद्ध चेन रेष्टुराँ हार्ड रक क्याफे अब नेपालमा भित्रने भएको छ ।

काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा आगामी बैशाखदेखि सञ्चालनको तयारी गरिएको क्याफे नेपालमा पहिलोपटक भित्रिन लागेको हो ।

विश्वका झण्डै १ सय स्थानमा विस्तार भइसकेको क्याफेलाई नेपालमा व्यवसायी सञ्जीव तुलाधरले ल्याउन लागेका हुन् । उनले झण्डै डेढ वर्ष अघिदेखि यसका लागि प्रयास गरेका थिए ।

हार्ड रक क्याफे अमेरिका, युरोपलगायत विश्वका अधिकांश देशमा लोकप्रिय ब्राण्ड हो । नेपालमा सञ्चालन गर्नका लागि शेर्पा मलको माथिल्लो तलामा अहिले कन्सट्रक्सनको काम भइरहेको छ ।

झण्डै १० हजार स्वायर फिट क्षेत्रफलमा क्याफे सञ्चालनका लागि काम भइरहेको छ । रक म्यूजिकसँग नाता जोडिएको यस क्याफेमा रेष्टुराँसँगै हार्ड एन्ड रक प्रिन्ट भएका टिसर्ट समेत बिक्रीका लागि राखिनेछ ।

शेर्पा मलको रेड कापेर्ट भएको स्थानमा हार्ड एण्ड रक क्याफे सञ्चालन गर्न धमाधम पुनसंरचना भइरहेको छ ।

झण्डै १० करोड रुपैयाँ लगानी गर्न लागिएको क्याफेमा म्यूजिकसहितको रेष्टुराँ सञ्चालनमा आउनेछ ।

विशेषगरी मेटालिक, माइकल ज्याक्सनलगायतका विश्वप्रसिद्ध ब्याण्डका गीत प्रस्तुत गरिनेछ भने नेपाली रक गायकहरुको समेत ग्राहकले लाइभ म्यूजिकको आनन्द दिन सक्नेछन् ।

क्याफेमा विश्वप्रसिद्ध रक गायकहरुका टिसर्ट, गितार जस्ता एतिहासिक सामान पनि शोका लागि राखिनेछ ।

विश्वका अन्य स्थानको डिजाइनसँग मेल खाने गरी कम्पनीमा डिजाइनरहरु नै आएर क्याफेको डिजाइन गरिसकेका छन् । हाल सोही डिजाइन अनुसार निर्माणको काम भइरहेको छ ।

लन्डनमा शुरु भए पनि सन् २००७ मा कम्पनीका २ संस्थापकले अमेरिकाको क्याफे इन्टरनेसनल इंकलाई सर्वाधिकारसहित बिक्री गरेको थियो ।

कम्पनीले विश्वका ७५ देशमा १८० रेष्टुराँसँगै २४ वटा होटल र ११ वटा क्यासिनो समेत सञ्चालनमा छन् ।


क्लिकमान्डु