राष्ट्रियसभामा कार्यकाल सकिने सांसद नदोहोरिने, के होला अर्थमन्त्रीको ?



काठमाडौं । नेकपाले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेको छ ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले विद्यमान सांसदहरु कोही कसैलाई पनि उम्मेदवार बनाएको छैन ।

कार्यकाल सकिनेमा सम्भावनामा अर्थमन्त्री डा युवराज खतिवडा समेत छन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिको तर्फबाट मनोनय भएका थिए ।

कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णयसँगै अर्थमन्त्री डा खतिवडासमेत बाहिरिने अवस्था देखिएको छ ।

सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । यस्तै प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

नेकपाका अनुसार प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाको यो निर्णयसँगै राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा खतिवडाको समेत कार्यकाल थप नहुने सम्भावना बढेका छ ।


क्लिकमान्डु