अटो क्षेत्रका लागि वर्ष २०१९ निराशाजनक, २ दशकमा सबैभन्दा कम गाडी बिक्री भए



काठमाडौं । अटो क्षेत्रका लागि सन् २०१९ निराशाजनक वर्षका रुपमा रह्यो । विश्वभरका अधिकांश गाडी निर्माता कम्पनीको बिक्रीमा नकरात्मक संकेत देखियो ।

गाडीको बिक्रीमा कमी आएपछि गाडी कम्पनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गरे । योजनाहरु सार्वजनिक गर्दा पनि गाडीको विक्रीमा सकरात्मक संकेत देखिएन ।

जसको असर स्वरुप विभिन्न कम्पनीहरु हजारौको संख्यामा कर्मचारी कटौती गर्ने निर्णय गर्न बाध्य भए ।

विश्वव्यापी रुपमा देखिएको यो समस्या भारतमा पनि देखियो । पछिल्लो २ दशकमा सर्वाधिक कम बिक्री हुने वर्षका रुपमा सन् २०१९ ले रेकर्ड बनायो ।
भारतमा अधिकांश गाडी निर्माता कम्पनीहरु यो अवस्थाबाट प्रभावित भए । यद्यपि किया मोटर्स, एमजी जस्ता कम्पनीले भने राम्रो व्यापार गर्न सफल भए ।

सन् २०१९ को अगस्ट महिना सर्वाधिक कम विबक्री हुने महिनाका रुपमा रह्यो । अगस्टमा मात्र समग्र गाडीको बिक्री ३१.५७ प्रतिशतले कमी भयो ।
सन् २०१८ को अगस्टमा २ लाख ८७ हजार १ सय ९८ युनिट गाडी बिक्री भएका थिए भने उक्त संख्या सन् २०१९ को अगस्टमा १ लाख ९६ हजार ५ सय २४ युनिटमा झरेको थियो ।

गाडी निर्माता कम्पनीहरुलाई चाडपर्वको बेला अर्थात् फेस्टिभ सिजनमा भएको बिक्रीले केही राहत दिएको थियो जसले रिटेल सेल्समा केही सुधार गर्न सहयोग पुग्यो ।

तर कम्पनीहरुले वर्षको अन्त्यमा दिएको अफरले पनि बिक्रीदरमा सकरात्मक संकेत देखिएन । फलस्वरुप अधिकांश गाडीको बिक्री उकालो लाग्न सकेन ।


क्लिकमान्डु