नेपाल भ्रमण वर्ष-२०२०: मैदानका हरेक कुनामा सक्रिय सुरज वैद्य



काठमाडौं । बुधबार साँझ ४ बजेर २५ मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘नेपाल भ्रमण वर्ष–२०२०’ कार्यक्रम उद्घाटन भव्यरुपमा शुरु भयो । सामान्य स्टेजमा विराजमान स्वदेशी र विदेशी अतिथीसँगै हजारौंले दर्शकदिर्घामा बसेर अवलोकन गरे ।

वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भएको कार्यक्रममा त्यसको शुरुवातदेखि नै दर्शहरुले निकै रमाइलो मानिरहेका थिए ।

नेपालमा पर्यटकको संख्या २० लाख पुर्याउने त छदै थियो । त्योभन्दा बढी नेपाल भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्य उद्घाटनलाई भव्य बनाउन चाहन्थे ।

उनले यसअघि पटकपटक भनेका थिए कि, सागमा निकै राम्रो उद्घाटन कार्यक्रम भयो, हामी त्योभन्दा पनि राम्रो बनाउन चाहिरेका छौं । त्यसको झझल्को उनको मैदानका हरेक कुनामा देखिएको उनको सक्रियताले देखाउँथ्यो ।

कालो पाइन्टमाथि कालो ज्याकेट लगाएका उनी मैदानका हरेक कुनामा हुने समस्या सुल्झाउन पुगिहाल्थे । घरी मार्चपासमा लाइन मिलाउँदै हिँड्थे त त्यही बीच मिडियासँग कुराकानी पनि गर्न भ्याइरहेका थिए ।

अन्य विशिष्ट मानिसहरु आसनमा विराजमान भइ उद्घाटन कार्यक्रम अवलोकन गरिरहँदा वैद्य भने हरेक ठाउँमा आफूलाई प्रस्तुत गर्दै कुनै पनि गल्ती नहोस् भन्ने चाहेका थिए ।

कार्यक्रममा झाँकीको प्रदर्शनी झण्डै १ घन्टा जति भयो । पुसको दिन छिट्टै साँझ पर्ने । त्यसमा पनि चिसो मौसम, ६ बजेपछि विस्तारै शीत पर्न थाल्ने । विदेशी पाहुना ल्याइएको छ, खुला मैदानमा राखिएको, उनीहरुको स्वास्थ्य पनि ख्याल त गर्नै पर्यो ।

सायद त्यही भएर होला वैद्य आफै मैदानमा निस्केर झाँकीको लाइन चलिरहेको गति भन्दा अलि छिटो नै अघि बढाउन थाले । नमिलेको लाइन मिलाउन थाले । घरी यता घरी उता गर्दै स्टेजको पछाडिपट्टी स्वयमसेवकलाई खानाको व्यवस्थापनमा समेत उनी आफै खटिएका थिए ।

झाँकी मिलाउँदै गर्दा केही सञ्चार माध्यमसँग कुराकानी गर्न पनि भ्याए । साथै फोटो खिचाउन पनि भ्याइरहेका थिए । यति सक्ने वित्तिकै फेरि लाइन मिलाउन व्यस्त भइहालेको उनको दृश्य निकै रमाइलो थियो ।


क्लिकमान्डु