भ्रमण वर्ष आजदेखि शुरु हुँदै, पर्यटन क्षेत्रमा विदेशी लगानी सबैभन्दा धेरै



काठमाडौं । एक वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित आजदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

बुधबार दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् भने छिमेकी मुलुक भार र चीनबाट आएका पर्यटनमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा एक्यवद्धता जनाउने छन् ।

आजै ७ वटै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी भ्रमण वर्षको शुरुवात गरिनेछ । भने विदेशस्थित कुटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्रमा भ्रमण वर्षलाई लक्षित गरी विभिन्न कार्यक्रम हुनेछन् ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्यले २ करोड रुपैयाँको लागतमा उद्घाटन कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि काम गरिरहेको बताए ।

‘गत महिना भएको साग उद्घाटन निकै राम्रो भयो, त्यसले पनि हामीलाई अझ राम्रो गर्नका लागि दबाब छ, त्यसैले अहिलेसम्मकै भव्य उद्घाटन गर्नेछौं,’ बैद्यले क्लिकमाण्डूसँग भने ।

पर्यटनमा विदेशी लगानीको ओइरो
नेपालमा भ्रमण वर्ष मनाउन लागिएको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानीको प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७७ करोड रुपैयाँको विदेशी लगानी पर्यटन क्षेत्रमा मात्रै आएको छ ।

उद्योग विभागका अनुसार सबैभन्दा बढी चीनबाट आएको छ । चीनबाट मात्रै ८० प्रतिशतभन्दा बढी लगानी आएको छ भने अन्य देशबाट पनि लगानी आएको छ । चीनले होटल तथा रेष्टुराँमा सबैभन्दा धेरै लगानी आएको हो ।

नेपालमा सबैभन्दा धेरै पर्यटक भारत र चीनबाट आउँछन् । त्यसैले ती पर्यटकलाई लक्षित गरी ठमेललगायतका क्षेत्रमा चिनियाँ रेष्टुराँको संख्या पनि बढ्दै गएको छ । यसैलाई आधार बनाएर चीनको लगानी होटल तथा रेष्टुराँमा ओइरिएको उद्योग विभागको भनाइ छ ।

चीनबाहेक भारत, जापन, पोल्याण्ड, फ्रान्स र मलेसियाबाट पनि चालु आर्थिक वर्षमा होटल तथा रेष्टुराँमा लगानीको प्रतिवद्धता आएको छ ।


क्लिकमान्डु