नेपाल भ्रमण वर्षलाई लक्षित गरी बेटर नेपालले घोषणा गर्यो पदयात्रा कार्यक्रम
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ हुने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो ।
‘नेपालको सम्पदा हाम्रो गौरव’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरु आबद्ध कार्यक्रमकी अध्यक्ष माला खरेलले बताइन् ।
उनले यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरु, सरसफाइ अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरुको सभागिता रहनेछ ।
कार्यक्रमा अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धरले उक्त पदयात्रा सरसफाइको लागि मात्र नभएर स्वास्थ्यका लागि पनि महत्वपूर्ण हुने बताए ।
‘हामीले तेस्रो, चौथो मुलुकका डलरवालाभन्दा धर्म, संस्कार, संस्कृति, भेषभुषा मिल्ने नजिकका छिमेकीलाई भ्रमण वर्षमा बढी आकर्षित गर्नुपर्छ । किनभने भारत र चीनमा हिन्दू र बौद्धिष्टहरु बढी छन् । उनीहरुलाई नेपालमा ल्याउन सकियो भने भ्रमण फलदायी हुनेछ,’ उनले भने ।
प्रदेश नम्बर ३ का सांसद् गणेश दुलालले पनि भ्रमण वर्षमा छिमेकी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक किशोर सिंह शाहीले पदयात्राले पर्यटन प्रवद्र्धनमात्रै नगरेर स्वास्थ्यलाई फाइदा हुने डाक्टरले पनि प्रमाणित गरेको बताए ।
कार्यक्रममा चक्रपपथ सफाइ अभियन्ता ताराबहादुर कुँवर, विष्णुमति सरसफाइ अभियन्ता शोभाकान्त पराजुलीले पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरसफाइलगायत विभिन्न नेपालको संस्कार, संस्कृति, कलाकृति झल्किने काममा जोड दिनुपर्ने बताए ।
पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८.१५ बजेदेखि शुरु भइ वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८.१५ देखि नै हुनेछ ।
त्यस्तै, पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । त्यसैगरी माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ ।