किया सेल्टोस कार नेपालमा भित्रियो, के छन विशेषता ?



काठमाडौं । भारतमा सार्वजनिक भएको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपालमा पनि सार्वजनिक भएको छ ।

नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।

सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएको कम्पनीको दाबी छ ।

भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।

हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु