जनवरीदेखि गाडीको मूल्य बढाउने कम्पनीहरुको तयारी, कति बढ्दैछ मूल्य ?




काठमाडौं । अधिकांश गाडी निर्माता कम्पनीहरुले सन् २०२० को जनवरीदेखि नै गाडीको मूल्य बढाउने भएका छन् ।

आगामी अप्रिलदेखि विएस–६ मापदण्ड अनुसार मात्र गाडी निर्माण गर्नुपर्ने भएकाले तत्काल अन्य मापदण्डका गाडीको मूल्य नबढ्ने आँकलन गरिएको थियो । तर अधिकांश कम्पनीहरुले जनवरीदेखि नै मूल्यबृद्धि हुने जानकारी दिएका छन् ।

गाडी निर्माणमा लाग्ने सामग्रीहरु महंगो भएका कारण मूल्य बढाउनु परेको कम्पनीहरुको तर्क छ ।

भारतस्थित हुण्डाई मोटरले जनवरीदेखि ह्याचब्याक, सेडान, एसयुभी मोडलका गाडीको मूल्य बढाउने घोषणा गरेको छ । कुन मोडलमा कति मूल्यबृद्धि हुन्छ भन्नेबारे स्पष्ट उल्लेख नगरे पनि गाडीको मोडल र फ्युलको प्रकारअनुसार मूल्य बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी रेनोले पनि जनवरीदेखि नै मूल्य बढाउने भएको छ । फ्रेन्च कारमेकर रेनोले पनि कुन मोडलमा कति मूल्य बढ्छ भन्नेबारे विस्तृत विवरण दिएको छैन ।

मर्सिडिज बेन्ज मूल्यबृद्धि घोषणा गर्ने पहिलो लक्जरी ब्राण्ड हो । मर्सिडिजले भारतमा उत्पादन गर्ने गाडीमा सि क्लास, इ क्लास, एस क्लास, सिएलए, सिएलएस, भि क्लास, जिएलए, जिएलसी र जि वागेन रहेका छन् ।

यी सबै मोडलका गाडीहरुमा ३ प्रतिशत मूल्यबृद्धि हुने कम्पनीले प्रष्ट पारेको छ । साथै कम्पनीले केहि महिना अघि नै विएस–६ रेन्जका गाडीको पनि मूल्यबृद्धि गर्ने बताएको थियो ।

निशान र ड्याटसनले पनि गाडीमा ५ प्रतिशत मूल्यबृद्धि गर्ने घोषणा गरेका छन् । मूल्यबृद्धि हुने मोडलमा ड्याटसन गो, गो प्लस, रेडिगो, निशान किक्स, टेरानो, सन्नी, माइक्रा, माइक्रा एक्टिभ छन् ।

मारुती सुजुकी र कियाले पनि यसअघि नै मूल्य बढ्ने बताएका छन् । अरु गाडी निर्माता कम्पनीले पनि जनवरी १ सम्ममा मूल्य बढाउन सक्ने आँकलन गरिएको छ ।


क्लिकमान्डु