एसइई परीक्षा दिने विद्यार्थीका लागि डिशहोमले तयारी कक्षा प्रशारण गर्ने




काठमाडौं । डिशहोमले एसइई परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसइई तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिने कम्पनीले जनाएको छ ।

डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्, त्यो पनि आफ्नै घरमा बसी बसी । नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ ।

डिशहोमको शोकेस २ च्यानलमामात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र ती नै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुनेछन् । यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने विश्वास डिशहोमको रहेको छ ।

एसइईका विद्यार्थीहरु लक्षित विषयगत प्रसारण गरिन लागेको सम्बन्धमा डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले नै एसइई दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि क्भ्भ् तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं “।


क्लिकमान्डु