नारायणगढ–मुग्लिन सडक २ हप्तासम्म दिउँसो ११ देखि ३ बजेसम्म बन्द हुने




चितवन । सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकोमा पानी परेपछि काम शुरु हुन सकेको छैन ।

नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङ लगायतका काम गरिँदैछ । सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिए ।

ती काम छ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीहरुले संयुक्त रुपमा १२ करोडको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुङ्गा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो । खनालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुङ्गा झारिनेछ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो ।

बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा तीनवटा सम्पन्न भई सकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल पाँच दशमलब पाँचदेखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो ।

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि आजदेखि दुई सातासम्म दिनमा सवारी रोक्न लागिएको भए पनि पानी परेका कारण आज काम शुरु नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।


क्लिकमान्डु