अरुको बैंक खातामा निक्षेप जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण चाहिने, के हो गाेएएमएल ?



काठमाडौं । तपाईं अरु कसैको बैंक खातामा रकम रम्मा गर्न जाँदै हुनुहुन्छ भने थप समय छुट्याउनुहोस्। यसअघि तपाईंले कहिल्यै गर्नु नपरेको काम गर्नुपर्ने भएको छ ।

तपाईंले अबदेखि अरु कसैको खातामा रकम जम्मा गर्दा पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्ने भएको छ । सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्यिसल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियम अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिइसकेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार ०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुले र ०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुले गोएएमएल सफ्टवेर राख्नुपर्नेछ ।

यो सफ्टवेर राखेपछि कुनै पनि व्यक्तिले कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्नेछ ।

त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट चाहिन्छ । र, तपाईंले बैंक जाँदा यसअघिको भन्दा थप केही समय पनि छुट्याउनु पर्ने हुन्छ ।

सन् २०२० मा एफएटीएफले नेपालको समीक्षा गर्दैछ । त्यसका लागि पनि सरकारले कम्प्लाइन्समा धेरै कडाइ गरेको छ ।
राष्ट्र बैंकले गोएएमएल लागू नगर्नेलाई कारवाहीको दायरामा ल्याउने समेत घोषणा गरिसकेको छ ।

राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्त कम्पनीहरु उक्त सिस्टम भित्र्याउन गृहकार्यमा जुटेका छन् । गोएएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको एकप्रकारको सम्पती शुद्धिकरण सम्बन्धी सफ्टवेयर हो ।

यो सिस्टम प्रायजसो विश्वका सबै देशहरुको बैंकिङ क्षेत्रमा लागू गरिएको छ । नेपालमा २ वर्ष अगाडिबाट नै राष्ट्र बैंक बैंकिङ क्षेत्रमा गोएएमएल प्रणाली लागू गर्ने तयारी गरिरहेको थियो ।

लामो समयको प्रयासपछि आफ्ना सम्पुर्ण तयारी सकेर राष्ट्र बैंकले समय नै तोकेर बैंक तथा वित्त कम्पनीलाई उक्त सिस्टम लागू गर्न निर्देशन दिएको छ । तोकिएको समयमा गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ देखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउँदै यसको विकास र सुढृणिकरणका लागि केन्द्रिय बैंकले यो व्यवस्था गरेको हो,’ निरौलाले भने ‘बैंकिङ क्षेत्रको सुरक्षाको लागि भएपनि यो अत्याआवश्यक छ, तोकिएको समयमा लागू नगर्नेलाई जरिवाना सहित संस्था संचालनको इजाजतपत्र खारेजी समेत हुन्छ ।’

नेपालको बैंकिङ प्रणाली अन्तराष्ट्रिय स्तरको हुनुका साथै वित्तीय पारदर्शीता बढेर बैंकिङ जोखिम र अपराधिक घटनाहरु न्यून हुने उनको भनाई छ ।

हालसम्म राष्ट्र बैंकमा बैंक तथा वित्त कम्पनीहरुले दैनिक १० लाखभन्दा माथिको कारोबारमात्र विवरण पठाउने गरेको छ । तर गोएएमएल प्रणाली लागू भएपछि राष्ट्र बैंकले आफ्नो मातहतका सबै बैंक तथा वित्त कम्पनीहरुको कारोबारको विवरण स्यमः हेर्न सक्छ ।

यो एक प्रकारको रिपोटिङ सफ्टवेयर सिस्टम  हो । हाल बैंक तथा वित्त कम्पनीहरुले ग्राहक पहिचान विवरण ‘नो यो कस्टमर’ (केवाइसी) रिपोटिङ अनुसार ग्राहकको सम्पुर्ण व्यक्तिगत र कारोबारको साथै आन्तरिक कारोबारको विवरण गोएएमएल सिस्टममा रिपोटिङ गर्नु पर्ने हुन्छ । उक्त सिस्टमको माध्यमबाट राष्ट्र बैंक सम्पुर्ण कारोबारको विवरण राख्ने हुन्छ ।
हालसम्म बैंकहरुले एएमएल सिस्टमको रिपोटिङ गरिरहेको छ । सोही एएमएल सिस्टमको सिपोटिङलाई स्ट्यार्डड फरमेटमा गोएएमएल सिस्टममा रिपोटिङ गरिने भएको हो ।

गोएएमएल सिस्टममा बैंक तथा वित्त कम्पनीले रिपोटिङ गर्दा नयाँ तथा पुराना सबै खातावालाको सम्पुर्ण विवरण माग्नुका साथै चेक डिपोजिट गर्ने ग्राहकको पनि विवरण राख्नु पर्नेछ । दैनिकरुपमा भएको कारोबारको रिपोटिङ सोही समयमा नै गोएमलमा गराइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्त कम्पनीहरुले प्रयोग गरिरहेका सफ्टवेयरमा इनस्ट्रल गर्ने वा गो–एएमएल एडप्ट हुने सफ्टवोयर सिस्टम आफ्नो संस्थामा राख्नु पर्ने हुन्छ ।

यो सिस्टम भित्र्याउदाँ बैंकिङ कारोबारमा पारदर्शिता बढ्नुको साथै खर्च र समय पनि बढ्ने बैंकरहरु बताउँछन् । सबै बैंकहरुले आ–आफ्नो आन्तरिक सफ्टवेयरमा म्याच हुने गोएएमएल सफ्टवेयर भित्र्याउदाँ ५ देखि २५ लाख रुपैयाँसम्म खर्च हुने उनीहरुको भनाइ छ ।

वाणिज्य बैंकहरुमा माघ १ गतेबाट नै लागू गर्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको हुदाँ सबै वाणिज्य बैंकहरुले उक्त सफ्टवेयर लिएर परिक्षण गरिसकेको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले क्लिकमाण्डूलाई बताए ।

‘गोएएमएल सिस्टम बैंकको कोर–बैंकिङ सिस्टम नै हेर्ने सिस्टम भएकोले यसमा समय भने लाग्छ,’ शाहले भने ‘गोएएमएल सफ्टवेयरमा नै म्याच हुने खालको बैंकहरुको सिस्टम छैन, त्यसैले यसमा म्याच हुने सफ्टवेयर अपडेट गर्दा खर्च भने बढेको छ ।’
नियमकारी निकायले दिएको समयमा जसरी भएपनि सिस्टम लागू गर्न सबै बैंकहरु तयारीमा रहेको र उक्त सिस्टम लागू भएपछि नेपालको बैंकिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको हुने उनको भनाइ छ ।

बैंकिङ क्षेत्रमा हाल सबैभन्दा बढी खर्च भनेको टेक्नोलोजिमा नै खर्च भइरहेको छ । विकास बैंकहरुमा असार १ गतेदेखि गो–एएमएल लागू गर्ने निर्देशन राष्ट्र बैंकको छ । विकास बैंकहरुले उक्त सिस्टम भित्र्याउँनको लागि पहिलो चरणको काम गरिसकेको ज्योति विकास बैंकका सीइओ मनोज ज्ञावलीले क्लिकमाण्डूलाई बताए ।

‘राष्ट्रियस्तरका मात्र नभइ क्षेत्रियस्तरका विकास बैंकहरुले पनि यसका लागि काम अगाडि बढाई सकेका छन्,’ उनले भने ‘राष्ट्र बैंकले ढेड वर्ष अगाडिदेखि नै लागू गर्ने भनेको हुँदा हामीले यसको तयारी पहिलेबाटै गरेका हौँ ।’

केही बैंकहरुको पुरानै सफ्टवेयरको गोएएमएल सिस्टमको मोडेल भएको हुँदा कोर बैंकिङमा थोरै खर्च गरेर राख्न मिल्ने र नभएको बैंकहरुले लोकल लेवलका देखि अन्तराष्ट्रियस्तरका नै गोएएमएल सफ्टवेयर ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको खर्चमा राख्न सक्ने उनको भनाइ छ ।


क्लिकमान्डु