नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र



बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे) मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ ।

जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ ।

बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए । ठेक्कामध्येको ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाई छ ।

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।”

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमीन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ ।

प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए ।


क्लिकमान्डु