हायातको बैठकमा तारा गाउँ विकास समितिका अध्यक्ष न्याैपानेको ६ बुँदे असहमति



तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपाने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टी प्रकट गरेका छन् ।

सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका विषयमा अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मतसहित असन्तुष्टी प्रकट गरेका हुन् । सोमबार भएको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानले सञ्चालक समितिमा बिकास समितिको तर्फबाट यसअघि ३ जनाको प्रतिनिधित्व रहने प्रावधान भएपनि पछिल्लो समयमा १ जना मात्रै प्रतिनिधित्व गराएको भन्दै ३ जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन् ।

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष–१, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव–१, र समितिका संचालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो ।

तर, पछिल्लो समयमा होटल्स लिमिटेडमा समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत घटेको भन्दै १ जनामा सीमित गराएका थिए । तारा गाउँ विकास समितिमा तीनै जना हुनुपर्नेमा अध्यक्ष न्यौपानेले चर्को अडान राखेका छन् ।

यसैगरी अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेका छन् ।

यसैगरी समितिले होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डीडिए) गर्नुपर्ने अडान अध्यक्ष न्यौपानेले राखेका छन् ।

यसैगरी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिइएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडान उनले राखेका छन् ।

यस्तै संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनुपर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्रलगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शीघ्र कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन् ।

बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिइओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठ लगायत थिए ।


क्लिकमान्डु