विकास बैंकका अध्यक्षहरुलाई राष्ट्र बैंकले एम्बास्डर होटेलमा बोलायो,



काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले सबै विकास बैंकका अध्यक्ष र जोखिम कमिटिका संयोजकलाई बोलाएको छ । राष्ट्र बैंकले बुधबार २ बजेका लागि उनीहरुलाई राजधानीको लाजिम्पाटस्थित होटेल एम्बास्डरमा बोलाएको हो ।

संस्थागत शुसाशनको अवस्था, एक वर्षदेखि राष्ट्रले निरिक्षणका क्रममा भेटेका कैफियत, सम्पत्ति शुद्धीकरण निवारण ऐन र मर्जरका विषयमा छलफल हुने विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले जानकारी दिए ।

सुपरिवेक्षण विभागको आयोजनामा प्रत्येक वर्ष अध्यक्ष र रिस्क कमिटिको संयोजकलाई बोलाएर वर्षभरीको निरिक्षणका क्रममा देखिएका कैफियत, संस्थागत सुशासनको अवस्था र अबको रणनीतिका विषयमा छलफल र अन्तक्र्रिया हुने गर्छ । सोही नियमित छलफलका लागि राष्ट्र बैंकले विकास बैंकका अध्यक्ष र जोखिम कमिटिका संयोजकलाई बोलाएको हो ।

अन्तक्र्रिया कार्यक्रममा विकास बैंक सुपरिवेक्षण विभागका २ जना निर्देशकले प्रस्तुति दिनेछन् भने बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको पनि प्रस्तुति छ ।

समग्रमा विकास बैंकहरुको सुशासनको अवस्था सन्तोषजनक नै रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

‘केही विकास बैंकको राम्रै कैफियत भेटिएको छ, धेरैको अवस्था राम्रो छ,’ उनले भने ।

कैफियत भेटिएका बैंकका अध्यक्षलाई मर्जरमा जान सुझाव दिने उनले जानकारी दिए ।

‘यस्तो प्रतिस्पर्धी अवस्थामा खरो प्रतिस्पर्धामा उत्रिन नसकेका र धेरै कैफियत भेटिएका संस्थालाई मर्जरमा जान सुझाव दिन्छौं,’ उनले भने, ‘र, अर्को महत्वपूर्ण कुरा के छ भने सन् २०२० मा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले समीक्षा गर्दैछ, यसबारे पनि गंभीर छलफ र अन्तक्र्रिया हुन्छ ।’

गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले वार्षिक नियमित छलफल र सम्पत्ति शुद्धीकरण निवारणका विषयमा छलफल गर्न राष्ट्र बैंकले बोलाएको जानकारी दिए ।


पुष्प दुलाल