नेपाल भ्रमण वर्ष सफल बनाउन पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल



काठमाडौं । वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गरेको सहयोगको आव्हानप्रति प्रतिबद्धता जनाउँदै वायु सेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका थिए ।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए । यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए ।

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए । उनले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको बिषयमा सुझाव समेत राखेका थिए ।

उनले भ्रमण वर्षको अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका थिए । यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्त्तोरन्नतीको लागि अनुरोध गरे ।

छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रा.लिका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने बताए ।

विदेशी विशिष्ट व्यत्तित्व र सेलिब्रेटीलाई छुट दिने बिषयमा पनि छलफल भएको थियो । यसको बिषयमा ठोस कार्ययोजना तयार पार्नका लागि भ्रमण वर्षको सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, भ्रमण वर्षको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थिए ।


क्लिकमान्डु