बीमा समितिको अपरिपक्क निर्णय: क्रस होल्डिङको विवरण छैन, मर्जरको हल्ला मात्रै



काठमाडौं । बीमा समितिले साउन लागेपछि बीमा कम्पनीको मर्जरको, क्रस होल्डिङ भएका कम्पनीलाई तत्कालै मर्जरमा लैजाने भन्यो ।

तत्कालिन समयमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले पहिले धमाधम नयाँ कम्पनीलाई अनुमति दिए अनि फेरि कम्पनीहरुलाई पनि मर्जरमा जान दबाब दिन थाले भन्दै विरोध पनि भयो ।

विरोध शुरु भएपछि समितिले पुँजी नपुगेका कम्पनीलाई पुँजी पुर्याउनका लागि मर्जरमा जान विकल्प दिएको भन्यो । त्यसपछि बीमा कम्पनीले पुँजी पनि पुर्याए । अधिकांश कम्पनीले पुँजी पुर्याउनका लागि हकप्रद र बोनसको सहारा लिए ।

अहिले पुँजी नपुग्ने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स छ । गुँरासको पनि धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण रोकिएको हो । समितिका अनुसार बोर्डमा अध्यक्ष नियुक्त भएपछि उक्त इन्स्योरेन्सको हकप्रद पारित हुनेछ । त्यसका लागि समय लाग्ने समितिले जनाएको छ । अन्य सबै कम्पनीको पुँजी पुगिसकेको छ । यो पनि पुँजी पुग्ने क्रममा रहेको छ ।

सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीको पुँजी पुगेपछि मर्जरको कुरा सकिएको छ । जसले गर्दा बीमा समितिको मर्जरको नीति फेल खाएको छ ।

मर्जरको नीति फेल खाएपछि समितिले क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने नीति लियो ।

क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने भनेपनि विगत ५ महिनादेखि यो भनाई केवल भनाइमा मात्रै सीमित भएको छ । समितिका अनुसार अहिलेसम्म क्रस होल्डिङ भएका कम्पनीको विवरण माग गरिएको छैन ।

समितिका नियमन विभाग प्रमुख दिनेशकुमार लालले अहिलेसम्म कुनै पनि कम्पनीको तथ्यांक माग नगरेको बताए ।

‘केही कम्पनीमा क्रस होल्ङिड छ । तर उनीहरुको पनि तथ्यांक माग्नु भनेर आदेश आएको छैन । आदेश आएपछि मागौला । अहिले त्यस विषयमा कुनै पनि छलफल, अध्ययन भएको छैन’ कर्णले भने ।

केही बीमा कम्पनीमा एकै व्यक्ति वा एउटै संस्थाको लगानी रहेको छ । एकै प्रकृतिको काम गर्ने कम्पनीमा एकै व्यक्ति वा संस्थाको लगानी हुँदा सुशासन नहुने, आर्थिक अनियमितता हुने भन्दै बीमा समितिले लगानीको सीमा समेत तोकिसकेको छ । त्यो सीमा भने अहिले कार्यान्वयनमा भने आएको छैन ।

समिति निकट स्रोतका अनुसार निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई समूहको लगानी रहेको छ । यस्तै नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल समूहको लगानी छ ।

यता जीवन बीमातर्फ लाइफ इस्योरेन्स कर्पाेरेसन, सूर्य लाइफ इन्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्समा विशाल समूहको लगानी छ । यस्तै आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्समा पनि आइएमई समूहकै लगानी छ ।

बीमा समितिले जारी गरेको बिमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका-२०७३ मा क्रस होल्डिङ गर्न नपाउने व्यवस्था छ । निर्देशिकामा एकै व्यक्ति वा समूहले एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको उल्लेख छ ।

एउटा कम्पनीमा १५ प्रतिशतसम्म लगानी गरेका एकै प्रकृतिका अर्काे कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने निर्देशिकामा उल्लेख छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले क्रस होल्ङिको विषय नियमन शाखाले हेर्ने बताए ।


पुष्प दुलाल