लगानीकर्ताका लागि एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डमा कुन बैंक राम्रो ? यस्तो छ प्राविधिक विश्लेषण



काठमाडौं । एभरेस्ट बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंक विदेशी लगानी रहेको ‘क’ वर्गका वाणिज्य बैंक हुन् । एभरेस्ट बैंक भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक अस्ट्रेलियाको स्ट्याण्डर्ड चाटर्ड ग्रिनलेज लिमिटेडको शाखाको रुपमा ४६.८१ प्रतिशत सेयर लगानी छ ।

यी दुबै बैंक बोनस सेयरभन्दा पनि नगद लाभांश दिनमा जोड दिने गरेको देखिन्छ । यदि वाणिज्य बैकलाई ठूलोमध्ये तथा सानो पुँजी भएको कम्पनीमा विभाजन गर्ने हो भने एभरेस्ट बैंक र स्ट्याण्डर्ड चाटर्ड दुबै ठूलो पुँजी अर्थात् लार्ज क्यापिटल भएको बैंकमा पर्दछ ।

दुवैले यस वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नुका साथै गत आवको नाफाबाट लाभांश घोषणासमेत गरिसकेको सकेको छ । हाल एभरेस्ट बैंकको प्रतिकित्ता ५४६ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता सेयर ५२७ रुपैयाँ कारोबार भइरहेको छ ।

लाभांश गतिविधि
स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७५÷७६ को साधारण सभा सम्पन्न गरिसकेको छ । चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५÷७६ नाफाबाट २२.५० प्रतिशत नगद लाभांश वितरण गरेको छ भने एभरेष्ट बैंकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने करसहित २० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ । चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५÷७६ मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांशको बुक क्लोज भइसकेको छ । एभरेस्ट बैंकले आफ्नो बुक क्लोज मिति घोषणा गरेको छैन ।

चुक्ता पुँजी
स्ट्याण्डर्ड चार्टर्डको चुक्तापुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्तापूँजी छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा बैंकले १७.५० प्रतिशत र गत आव २०७५÷७६ मुनाफाबाट २२.५० प्रतिशत नगद लाभांश वितरण गरेको नगद लाभांश वितरण गरेकाले चुक्ता पुँजीमा केही परिवर्तन भएको छैन । हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्तापुँजी रहेको एभरेष्ट बैंकले ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पुँजी पुग्नेछ ।

जगेडा कोष, संचित मुनाफा र सेयर प्रिमियम
एभरेस्ट बैंकको जगेडा कोषमा ६ अर्ब ९६ करोड, संचित मुनाफा ३ अर्ब १ करोड ५० लाख रुपैयाँ छ भने चार्टर्डको जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ, संचित मुनाफा २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ छ ।

एभरेस्ट बैंकको जगेडा कोष तथा रिटर्न अर्निङ क्रमशः १५.६६ प्रतिशत तथा २७.०९ प्रतिशतले बढेको छ । स्ट्याण्डर्ड चार्टर्डको जगेडा कोषमा कुनै पनि परिवर्तन भएको छैन भने रिटर्न अर्निङमा ३४ प्रतिशतले बढेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्डको प्रिमियम शीर्षकमा कुनै रकम छैन । र, एभरेष्ट बैंकको २३ करोड ८४ लाख रुपैयाँ छ ।

निक्षेप र कर्जा
स्ट्याण्डर्ड चार्टर्ड बैंकभन्दा एभरेस्ट बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा अगाडि छ । आर्थिक वर्ष २०७६÷७७ को प्रथम त्रैमासमा एभरेष्ट बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड निक्षेप संकलन गरी १ खर्व ९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै चार्टर्ड बैंकले सोही अवधिमा ७५ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संचालन तथा खुद नाफा
खुद नाफाको आधारमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकभन्दा एभरेष्ट बैंकको नै अगाडि छ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७६÷७७ को प्रथम त्रैमासमा ६९ करोड ८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैकले सोही अवधिमा ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा छ ।

सञ्चालन मुनाफामा एभरेस्ट बैंकले ९८ करोड ६९ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्डले ९२ करोड १ लाख रुपैयाँ छ । नाफाको आधारमा हेर्दा अघिल्लो आव र गत आव तुलनामा एभरेष्ट बैंकको औसतमा ९ प्रतिशत वृद्धि भएको देखिन्छ भने स्ट्याण्डर्ड चार्टर्ड बैकको ६ प्रतिशत मात्र ग्रोथ छ ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकभन्दा एभरेष्ट बैंक अघि छ । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९ पैसा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १६ पैसा छ ।


वितरणयोग्य नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरण योग्य मुनाफा ४९ करोड ४ लाख रुपैयाँ छ भने एभरेष्ट बैंकले गत रिटर्न अर्निङमा २३ करोड रुपैयाँ छुट्याएपछि २६ करोड ३२ लाख रुपैयाँ छ ।

निश्क्रिय कर्जा
एभरेष्ट बैंकको निश्क्रिय कर्जा ०.१७ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको निश्क्रिय कर्जा ०.२४ प्रतिशत रहेको छ ।

लागत कोष ( कष्ट अफ फण्ड )
एभरेस्ट बैंकको कष्ट अफ फण्ड ६.३८ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको निश्क्रियकर्जा ५ दशमलव ३२ प्रतिशत छ ।

आधार ब्याजदर
एभरेस्ट बैंकको आधार ब्याजदर ८.५२ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको निश्क्रियकर्जा ७.६३ प्रतिशत रहेको छ ।

किताबी मूल्य, प्रतिकित्ता सम्पत्ति मूल्य
एभरेष्ट बैंकको किताबी मूल्य २२७ रुपैयाँ रहेको र स्ट्याण्डर्ड चाटर्ड बैंकको किताबी मूल्य १९४ रुपैयाँ छ । एभरेष्ट बैंकको किताबी मूल्य १९११ रुपैयाँ रहेको र स्ट्याण्डर्ड चाटर्ड बैंकको किताबी मूल्य ११७० रुपैयाँ छ ।

स्प्रेड रेट
एभरेस्ट बैंकको स्प्रेड रेट ५.५८ प्रतिशत छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकको स्प्रेड रेट ५.२५ प्रतिशत छ ।

रिटर्न अन इक्विटी तथा रिटर्न अन एसेस्ट
एभरेष्ट बैंकको रिटर्न अन इक्विटी १६.४६ प्रतिशत तथा रिटर्न अन एसेस्ट १.८० प्रतिशत र स्ट्याण्डर्ड चाटर्ड बैंकको रिटर्न अन इक्विटी १६.८७ प्रतिशत तथा रिटर्न अन एसेस्ट २.७५ प्रतिशत छ ।

निश्कर्ष
चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणको आधारमा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंक तुलना गर्दा एभरेस्ट बैंक अगाडि देखिन्छ । चालु आवको पहिलो वित्तीय विवरणमा एभरेष्ट बैंकको निक्षेप तथा कर्जामा क्रमशः १२.८१ प्रतिशत तथा १२.८१ प्रतिशतले वृद्धि गरेको देखिन्छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको भने निक्षेपमा ०.१७ प्रतिशतले वृद्धि हुँदा कर्जामा २.६४ घटेको देखिन्छ । खर्चतर्फ हेर्दा स्ट्याण्डर्ड चाटर्डको ४.२३ प्रतिशतले वृद्धि हुँदा एभरेष्ट बैंकको ११.५९ प्रतिशत बढेको देखिन्छ । एभरेस्ट बैंकले गत आवको पहिलो त्रैमासभन्दा ९.०८ प्रतिशतले नाफा वृद्धि गर्दा स्ट्याण्डर्ड चाटर्ड बैंक भने ६.२९ प्रतिशतमात्र वृद्धि गर्न सफल भएको देखिन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रायः रिटेल व्यापारमा नगन्य उपस्थिति नदेखाउने कारणले गर्दा शाखामा कम छ । स्ट्याण्डर्ड चाटर्डको तुलनामा एभरेष्ट बैंक शाखा निकै बढी छ । व्यवथापनको कौशल मापन गर्ने इक्विटी रिटर्न अन इक्विटी तथा रिटर्न अन एसेस्टका आधारमा एभरेष्ट बैंकभन्दा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक अगाडि देखिन्छ ।

समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकभन्दा एभरेष्ट बैंक लिमिटेड राम्रो देखिएको छ । यद्यपि पहिलो त्रैमासका आधारमा मात्र कुनै पनि दुई वित्तीय संस्था राम्रो हो भने हुँदैन । पहिलो त्रैमाससम्ममा बैंकको व्यवथापनले कर्जा उठानमा खासै कडाइ नगर्ने भएकाले वित्तीय विवरणमा केही असर पर्दछ ।


क्लिकमान्डु