अर्थमन्त्रीको विद्धतामाथि बामदेवले प्रश्न उठाए, भने- खतिवडाको नीतिले पार्टीलाई अप्ठ्यारो पार्यो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको विद्धतामाथि नेकपाकै एक सचिवालय सदस्यले प्रश्न उठाएका छन् । सरकारी समाचार एजेन्सी राससलाई शनिबार दिएको अन्तर्वार्तामा नेकपाका सचिवालय सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले प्रश्न मात्रै उठाएका छैनन् उनले विगत २ वटा आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटमाथि समेत गुनासो व्यक्त गरेका छन् ।

उनले ज्येष्ठ नागरिकलाई दिइएको भत्ताको रकम नबढाएको तथा निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता बजेटले सम्बोधन गर्न नसकेको जस्ता विषयमा समेत अर्थमन्त्री चुकेको बताए ।

गौतमले आम मानिसले अर्थमन्त्रीलाई विद्धान र डक्टरेट उपाधि प्राप्त गरेको ठाने पनि नीति तथा कार्यक्रम एवम् बजेटमा त्यो विद्धता नझल्किएकोमा आपत्ति नै जनाएका छन् ।

अर्थमन्त्रीभन्दा केही कुरामा म आफै विद्वान छुः बामदेव गौतम

‘अरु विषयमा अर्थमन्त्री डा. खतिवडा विद्धान होलान तर मुलुकको अर्थराजनीतिक विषय बुझ्ने सन्दर्भमा उनीभन्दा म नै बिद्धान छु,’ उनले रासससँगको अन्तर्वार्तामा भनेका छन् ।

सरकारले कृषिको आधुनिकिकरण एवम् आत्मनिर्भरतातर्फ बढाउने कुनै पनि कार्यक्रम नसमेटिएकामा समेत असन्तुष्टि जनाए । पछिल्लो पटक भएको उप–निर्वाचनमा सत्तारुढ नेकपाले धरान उपमहानगरपालिका र भक्तपुरको प्रदेश सभा सदस्य गुमाएकोमा समेत सरकार र विशेषगरी अर्थमन्त्रीको गलत नीति जिम्मेवार भएको आरोप लगाए ।

‘सरकारसहित हामी निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थानहरु गुम्न पुगेका छन् । हामीले त्यो स्थानलाई जोगाउँदै नयाँ ठाउँमा पहुँच स्थापित गर्न सक्नुपर्नेमा त्यो सकेनौँ । नसक्नुले हामी सरकार र पार्टी काममा लोकप्रियताको कसीमा खाँटी हुन सकेको देखिँदैन । त्यसकारण निर्मम भएर समीक्षा गर्दा सरकार र पार्टीले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट देखिन्छ । आगामी निर्वाचनमा थप स्थान गुमाउनुपर्ने खतरा उत्पन्न हुन सक्छ,’उनले अन्तर्वार्तामा भनेका छन् ।

यस्तै स्थानीय तहले लगाएको बढी करको कारण समेत आफूहरुलाई समस्या पारेको उनको अन्तर्वार्तामा स्पष्टसँग देखिन्छ । उनले करका सन्दर्भमा स्थानीय पार्टी कमिटीले स्पष्टसँग बुझाउन नसकेको र संघीय सरकारको अर्थमन्त्रालयले समेत त्यसबारेमा प्रष्ट नभनेकामा आपत्ति जनाएका छन् ।

अन्तर्वार्तामा नेता गौतम भन्छन, ‘स्थानीय तहले जनतामा बढी कर लगाएको भनेर मत कम आएको भनिएको छ । त्यो बढी कर पार्टीले लगाएको होइन, नगरपालिकाले लगाएको हो । यस्ता विषयमा एकीकृत पार्टी कमिटी समयमा कायम नहुँदा समयमा समीक्षा हुन पाएन ।ु

उनले नेकपाको सरकार गठन भए लगत्तै ल्याइएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा नै ज्येष्ठ नागरिकलाई दिने भत्तामा वृद्धि गरिएको भए त्यसले सकारात्मक प्रभाव पार्ने टिप्पणी गरेका छन् ।

अन्तर्वार्तामा नेता गौतमले भनेका छन्, ‘पछिल्लो समयमा ज्येष्ठ नागरिकको मासिक भत्ता वृद्धि गरेर ३ हजार रुपैयाँ हजार बनाइएको छ । यो वृद्धि सरकार गठन भएको पहिलो वर्षमा नै गरिएको भए एक प्रकारको सुधार राम्रो हुन्थ्यो । बजेट र नीति, कार्यक्रम बनाउँदा ख्याल गर्न नसक्दा केही कमजोरी भएका छन् ।ु


पुष्प दुलाल