सार्वजनिक खरीद ऐन नियम संशोधन गर्न निर्माण व्यवसायी महासंघको माग




काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।

त्रुटी सच्याउन सरकार सकारात्मक भएको पाइएको महासङ्घका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग संशोधनका विषयमा तीनपटक वार्ता भइसकेको पनि उनले सुनाए ।

“संशोधनका विषयमा अर्थमन्त्री डा युवराज खतिवडासँग पनि वार्ता भएको छ, प्रधानमन्त्री निवासअघि धर्ना दिएको पहिलो दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षण भएको सार्वजनिक अभिव्यक्ति दिनुभयो, उहाँ बिरामी हुनु भई अस्पताल भर्ना हुनुभएकाले स्वास्थ्यलाभको कामना गर्दै शान्तिपूर्ण धर्ना स्थगित ग¥यौँ”, अध्यक्ष सिंहले भने । सरोकार भएका निकायसँग छलफल गरी पूर्वाधार विकासमैत्री ऐन, नियम संशोधन हुने विश्वास महासङ्घले लिएको छ ।

यसैबीच महासङ्घले मङ्सिर २२ गते १२औँ निर्माण दिवस मनाउने घोषणा गरेको छ । राष्ट्रिय निर्माण दिवसको अवसरमा आइतबार प्रभातफेरिसहित दिउँसो महासङ्घ सचिवालयमा रक्तदान कार्यक्रम गरिनेछ । सोही अवसरमा महासङ्घको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिनेछ । प्रदेश महासङ्घ तथा सम्पूर्ण जिल्ला सङ्घमा आइतबार प्रभातफेरि कार्यक्रम गरिने महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु