भ्रमण वर्ष सफल पार्न राजदूतसँग पर्यटनमन्त्रीको आग्रह, भने- आफ्ना नागरिकलाई यहँ पठाइदिनुस्



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र ५ वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।

राजदूत र बैदशिक साझेदार संस्था प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर मन्त्री भट्टराईले भ्रमण वर्ष सफल पार्नका लागि सबैसँग आग्रह गरे । उनले सरकारको विदेश सम्बन्धममा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहको बताए ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

‘नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा यहाँका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०२० र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’

जवाफमा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको बताउँदै भ्रमण वर्ष सफल बनाउँदै सहयोग र साथको प्रतिबद्धता जनाइन् ।

त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए ती सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए ।

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकेको बताए ।

उनले सम्बन्धित देशका पर्यटनमन्त्रीलाई समेत उद्घाटन कार्यक्रममा उपस्थित गराइदिनका लागि आग्रह गरे ।

२०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै उनले महाभूकम्पको पीडाबाट उठ्नका लागि गरेको सहयोगको समेत प्रसंशा गरे ।

‘भूकम्पको समयमा पनि यहाँहरुको सहयोग निकै महत्वपूर्ण रह्यो, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उत्तिकै सहयोगको अपेक्षा गरेका छौं’ उनले भने ।

मन्त्री भट्टराईले आगमी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए ।

त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरीरहेको बताए । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिँदै उनले भने, ‘तपाईहरु मार्फत् म यो जानकारी तपाईहरुको देशका वायु सेवा कम्पनीलाई गराउन चहान्छु ।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको बिषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भिर रहेको भन्दै अन्तराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताए ।

उनले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीहरुले चाडै विश्वभरीका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिदै आगमी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।


क्लिकमान्डु