प्रधानमन्त्री ओलीले भने- मेरो स्वास्थ्यस्थिति सुधार हुँदैछ (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती सुधारको क्रममा रहेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटर मार्फत भिडियो सन्देश दिदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थिती सुधार हुँदै गएको र अस्पतालबाट दक्षिण एशियाली खेलकुदको उद्घाटन हेरेको जानकारी दिए ।

सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भएको २ मिनेट ६ सेकेन्डको भिडियोमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका छन् । उनले आफूले १३औं सागको उद्घाटन समारोह हेरेको बताउँदै राष्ट्रपतिलाई उद्घाटन गरिदिएको तथा अन्य सबै सहभागीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्रीले खेलाडीलाई समेत शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तैः

एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्याशित रुपमा त्यसै गरी आइलागेको हो । त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो । त्यसकारण केही दिन हप्ता दश दिन उपचारको क्रम लाग्ने भयो । तर मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ । सुधार भइराखेको छ । र, एउटा मेजर अप्रेसनपछि अब तपाईहरु देखि रहनु भएको छ । एउटा मेजर अप्रेसनपछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु । र, समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३औं सागको उद्घाटन समारोह पनि हेरेँ । र, हुन सक्छ कि सक्दैन भन्ने द्विविधा भएकोमा मलाई खुसी लागेको छ । राष्ट्रपति ज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागी भएकोमा धन्यवाद भन्न चाहन्छु । अब मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।


क्लिकमान्डु