बैंकर लम्सालले बुटवलको गणपति मिठाइ राजधानी ल्याए, करोड लगानीमा जावलाखेलमा आउटलेट



काठमाडौं । बुटवलबासीका लागि ‘गणपति मिस्ठान्न भण्डार’ चिनाइरहनु पर्ने नाम होइन । हरेक दिन हरेक समय गुणस्तरीय मिठाइका स्वादले गणपति बुटवलबासीको मनसँगै जिब्रोमै झुण्डिएको ब्राण्ड हो ।

बुटवल तथा यस आसपासका क्षेत्रमा गणपतिले बनाएका मिठाइको स्वादमा नरमाउने सायदै होलान । गणपतिले मिठाइ मात्रै बनाएको छैन, त्यसभन्दा बाहिर निस्केर गणपतिले १३ वर्षको अवधिमा बनाएको ब्राण्ड निकै लोभलाग्दो छ ।

बुटवलका हरेक जसो घरमा गणपति पुगैकै छ । त्यो मिठाइको स्वादले मात्रै सम्भव भएको होइन, त्यसका पछाडि निरन्तर गुणस्तरीय उत्पादन र सञ्चालक किशोर गौतमको व्यवसायिक इमान्दारिता पनि मिठाइमा थप मिठास भएकाले सम्भव भएको हो ।

बुटवलबासीका लागि पूजाआजा, विवाह, जन्मोत्सव जस्ता अनेकन शुभकार्यमा गणपतिको उपस्थिति अनिवार्य जस्तै बनेको छ । यतिसम्म कि राम्रो मिठाइ भनेकै गणपतिमा पाइन्छ भन्ने आम बुझाइ स्थापित भएझैं लाग्छ ।

एक दशकभन्दा बढी समयदेखि मिठाइका अनेकन प्रकारका स्वादले मिठास थपेको गणपतिले त्यही अर्ग्यानिक स्वादलाई उपत्याकामा समेत भित्राएको छ । शनिबारदेखि गणपति मिस्ठान्न भण्डारले ललितपुरको जावलाखेलबाट सेवा दिन सुरु गरेको हाे ।

शुद्धता र गुणस्तरीय मिठाइका स्वादले बुटवलबासीमा मनमा आफ्नो ब्राण्ड स्थापित गरिसकेपछि गणपति साढे २ सय किलोमिटर टाढा ललितपुरमा प्रवेश गरेको गौतमको भनाइ छ ।

जावलाखेलदेखि एकान्तकुना जाने बाटोमा झण्डै २०० मिटर पर स्टाफ कलेज पारी पट्टीबाट सेवा सुरु गरेको गणपतिको यो पाँचौ आउटलेट हो । यसअघि गणपतिले बुटवलमा ट्राफिक चोकबाट सुरु भई बुटवलकै मिलन चोक, तिलोत्तमा र फर्साटिकरका ४ वटा स्थानबाट सेवा दिइरहेको छ ।

बैंकर निरज लम्सालले गणपतिलाई काठमाडौं उपत्यका भित्र्याएका हुन् । जावलाखेलमा खोलिएको आउटलेटमा सवा करोड रुपैयाँ लगानी भएको छ । सिद्धि विनायक फुड एण्ड वेभरेजले यो आउटलेट सञ्चालन गर्छ । सिद्धि विनायक फुड एन्ड वेभरेजकी अध्यक्ष दीपा रिजाल हुन् । रिजाल बैंकर लम्सालकी श्रीमति हुन् । झन्डै ३ दशकको बैंकिङ करिअर भएका लम्साल अहिले प्रभु बैंकको प्रमुख कर्जा अधिकृत हुन् ।

‘निरज सरका कारण गणपति ब्राण्डलाई काडमाडौं उपत्यकामा ल्याउन सकियो,’ गौतमले क्लिकमाण्डूसँग भने ।

गौतमका अनुसार अहिले पसलमा ३५/४० वटा मात्रै परिकार छन् । साथै आगामी दिनमा १ सयभन्दा बढी परिकार उपलब्ध गराइने छ । मिठाइका परिकारसँगै भेज विरयानी, रोटी तरकारी, नान तन्दुरी, भेज मःमः पनि उपलब्ध हुनेछ । साथै, पानीपुरीलाई पनि फरक स्वादका लागि राखिएको छ ।

त्यतिमात्रै होइन, गौतमका अनुसार गणपतिको अर्को विशेषता यहाँको मट्का चिया पनि हो । सानो मट्कामा तातो चियाको स्वादको चुस्कीमा बुटवलबासी लोभिएपछि गौतमले जावलाखेलमा पनि त्यही अर्ग्यानिक स्वाद चखाउन लागेको बताए ।

मिठाइका परिकारमा दहीको परिकार यहाँ अर्को विशेषता हो । दहीको राजा मानिने जुजु धौंको स्वाद त हामी सबैको जिब्रोमा झुण्डिएकै छ । गणपतिले त्यसैको विकल्पमा उत्तिकै स्वादिलो दही उपत्यकाबासीका लागि ल्याएको हो ।

दुधलाई राम्रोसँग पकाएर बनाइएको दहीमा थोरै मात्रामा स्वादका लागि चिनी मात्रै प्रयोग गरिएको छ । गणपतिमा एकपटक दही खाने जो कोही पनि लोभिने गौतमको दाबी छ ।

गणपतिका मिठाइको अर्को विशेषता हो, शुद्धता ।

‘बुटवलमा हामी सबैको मनमा बस्न सकेको भनेकै शुद्धताले हो, मिठाइ शुद्ध घ्युबाट बनाउँछौं,’ उनले भने ।

गणपतिले ग्राहकलाई लक्षित गरी बजारको मूल्यभन्दा केही सस्तोमा मिठाइ उपलब्ध गराएको छ । जस्तै, मिक्स मिठाइ एक केजी किन्नु हुन्छ भने १०९९ रुपैयाँ पर्छ ।  स्पेसल मिक्स मिठाइ एक केजीका लागि १२९९ रुपैयाँ मात्रै तोकिएको छ ।

मिक्स मिठाइमा खुवा, छेना र बेसनका मिठाइ हुन्छन् भने स्पेसल मिक्स मिठाइमा खुवा, छेना र बेसनका साथै काजुका मिठाइ पनि राखिएको गौतमले बताए ।

जावलाखेलको गणपतिमा हाल २६ जना एकै साथ बसेर खाना खाना सक्छन भने आगामी दिनमा यो क्षमता अझै बढाउने योजना रहेको गौतमले बताए । जावलाखेलको यस गणपति मिस्ठान्न भण्डारमा १६ जना कर्मचारीले रोजगारी पाएका छन् भने बुटवलका ४ वटै स्थानमा ४५ जनाले रोजगारी पाएका छन् ।


पुष्प दुलाल