अब लघुवित्त संस्थाहरुले पनि बैंकले जस्तै सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने



काठमाडौं । आफ्नो संस्थाका सदस्यहरुबाट मात्रै बचत संकलन गर्दै आएका लघुवित्त कम्पनीहरुको दायरा फराकिलो भएको छ । अब लघुवित्त कम्पनीहरुले पनि बैंक तथा वित्तीय संस्थाहरु जस्तै गरी गैरसदस्य अर्थात सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउने भएका छन् ।

नियामक नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि हालै जारी गरेको एकीकृत निर्देशिकाले लघुवित्तको दायरा फराकिलो बनाउँदै नियमनको दायरामा पनि ल्याएको छ ।

लघुवित्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्नेछ । ‘वित्तीय स्रोत भन्नाले समूह सदस्यहरुबाट बचत, गैरसदस्यबाट निक्षेप, सापटी र डिवेञ्चरबाट संकलित रकम सम्झनु पर्दछ,’ एकीकृत निर्देशिकाम भनिएको छ ।

पेन्सन बचत लगायतका आवधिक निक्षेप तथा ऋणीलाई प्रवाह गर्ने ऋणबाट कट्टा गरी लिने जस्ता अनिवार्य बचत संकलन गर्न पाइने छैन । तर, हाल कायम रहेका यस्ता आवधिक बचत निक्षेपलाई भुक्तानी अवधिभर निरन्तरता दिन यस व्यवस्थाले बाधा पुगेको नमानिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरी सदस्यहरुलाई मात्रै ऋण दिनुपर्थ्यो । सहकारी र लघुवित्तको इजाजत दिने संस्था फरक भएपनि प्रवृत्ति भने उस्तै थियो । तर, अब लघुवित्त संस्थाहरुले बैंकले जस्तै सर्वसाधराणबाट निक्षेप संकलन गर्न पाउने छन् ।


पुष्प दुलाल