बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न अर्थमन्त्रीले दिए राष्ट्र बैंकलाई निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई पुस मसान्तसम्म सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउन निर्देशन दिएका छन् ।

राजधानी बुधबार आयोजित कामना सेवा विकास बैकको १३औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय भवन उद्घाटन तथा ५२ वटा शाखा कार्यालयको विद्युतीय माध्यमबाट उद्घाटन गर्दैै मन्त्री खतिवडाले ७५३ वटा स्थानीय तहमध्ये अब १४ वटा तहमा बैंकको शाखा पुग्न बाँकी छ ।

मन्त्री खतिवडाले स्थानीय तहलाई बलियो बनाउन बजेट जान थालेको, सबै तहलाई न्यूनतम साढे ६ करोड जाने, रेमिट्यान्स बैंकिङ प्रणालीबाट जाने, सामाजिक सुरक्षा लगायतको पैसा पनि बैंकबाट नै जाने भएकाले बैंकको शाखा पनि गाँउगाँउमा पुर्याउन आवश्यक रहेको बताए ।

‘स्थानीय तहमा गएका बैंक पनि स्थानीय तहको केन्द्रमा नै हुनु, अझ कुनै–कुनै तहमा त बैंक नै नहुनु लाजको विषय पनि हो । यसमा राष्ट्र बैंकले ताकेता गरेर भएपनि काम गर्नुहोस्’ उनले भने ।

बैंकहरुले केही स्थानीय तहमा खोलेका शाखामा घाटा नै भए पनि अन्यत्रको नाफाले त्यहाँको घाटा पुर्ती गर्न पनि आग्रह गरे ।

पछिल्लो समयमा नेपालमा उद्योग बढेन भन्ने चिन्ता देखिएको भए पनि बैकमा ऋण लिनेको संख्याले त्यस्तो नदेखाएको उनको तर्क छ ।

‘बैंकमा ऋण लिनका लागि फाइलको चाङ छ, २÷३ वर्षका लागि पुग्ने ऋणका लागि फाइलको चाङ नै लागेको छ । त्यो पैसा सप्ताह लगाउनलाई त होइन होला ?’ उनले प्रश्न गरे ।

आफूले पनि बैंकसँग ऋणको माग कति छ भनेर फाइल मगाएको बताए । ‘बैंकमा ऋणको माग कति छ ? अब ऋण दिँदा ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।

मन्त्री खतिवडाले बिकास बैकको ऐन पनि संशोधनको तयारीमा रहेको बताए । सशोधन भएपछि बिकास बैंक पनि सरकारी ग्यारेन्टी बस्नका लागि सक्षम हुने उनको तर्क छ ।

कार्यक्रममा मन्त्री खतिवडाले आफू राष्ट्र बैंकमा जागिर गर्न सुरु गरेको वर्ष बैंकका शाखा जम्मा २५० रहेको स्मरण गरे । उनले अहिले ३ हजार मानिसलाई १ बैंकले सेवा दिइरहेको पनि जानकारी गराए । उनले हाल ८० प्रतिशत नेपालीको बैकमा खाता भएको समेत बताए ।

‘प्रायः सबैको बैंक खाता छ, ६५ प्रतिशत मान्छेको हातमा स्मार्ट फोन छ, म सन्तुष्ट छु’ मन्त्री खतिवडाले भने, ‘कुनै बेला बैकमा कर्मचारी बढी ग्राहक कम हुने गरेका थिए, अहिले प्रविधिले लागत घटाएको छ ।’

उनले अहिले बैंकमा ब्याजदरमा चाप भएको र अन्तर्राष्ट्रिय पँुजि परिचालनमा भएको खण्डमा यो कम हुँदै जाने धारणा राखे ।

‘यसका लागि राज्यले पनि फ्रिज हुने पैसा खर्च गर्न थाल्नु पर्छ । अहिले बैंकहरुको लागि ऋणपत्र दीर्घकालिन लगानीका रुपमा आएको छ । दीर्घकालिन लगानीको वातावरण बन्यो । अब विदेशी लगानी नआई ब्याजदर टाइट बनाउन समस्या छ’ उनले भने ।

उनले मर्जरले गर्दा बैकहरुलाई केही हदसम्म सुदृढ बनाएको समेत दाबी गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले राष्ट्र बैंकले अहिले पनि मर्जरको नीति नछाडेको बताए ।

अहिले पनि ५ वटा विकास बैंक मर्जरको तयारीमा रहेको शिवाकोटीको भनाइ छ । यतिबेला मर्जरको नीति आवश्यक रहेको उनले बताए ।

‘यतिबेला ठूला बैंक गाउँमा पुगेका छन्, साना बैकलाई प्रतिस्पर्धामा जान समस्या भएको छ । त्यसको अर्को बिकल्प मर्जर नै हो । अब विकास बैंकले प्रविधिमा पनि खर्च गर्नुपर्छ । खर्च गर्न नसक्ने हो भने मर्जरमा जाँदा फरक पर्दैन’ शिवाकोटीले भने ।

उनले १ साताभित्र रिस्कबेस सुपरभिजनका लागि कामना सेवा विकास बैंकलाई पनि राष्ट्र बैंक पत्राचार गर्ने तयारीमा रहेको बताए ।

बैंकको बुधबार डिजिटल माध्यमबाट प्रदेश नम्बर १ मा १३ वटा, प्रदेश नम्बर २ मा ११ वटा, प्रदेश नम्बर ३ मा १० वटा, गण्डकी प्रदेशमा ६ वटा, प्रदेश नम्बर ५ मा ७, कर्णाली प्रदेशमा ८ वटा र सुदुर पश्चिम प्रदेशमा ४ वटा शाखाको उद्घाटन गरिएको छ ।


क्लिकमान्डु