यूएस बंगला जहाज दुर्घटनाका पीडितलाई विपक्षीको धम्की- मुद्दा खारेज हुँदैछ, बिचार गर्नुहोस्



काठमाडौं । २ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगाल एयरलाइन्सको जहाज दुर्घटनाका मृतकका परिवारलाई विपक्षीका अधिवक्ताले धम्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ७ वटा मृतकका परिवारले विपक्षीका अधिवक्ता देवेन्द्र प्रधानले पत्र लेखी धम्की दिएको भन्दै उनीहरुले निस्पक्ष छानबिनको माग गरेका हुन् ।

मृतकमध्ये ७ वटा परिवारले उचित क्षतीपूर्तीको माग राख्दै यूएस बंगला एयरलाइन्सका विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । जसअनुसार गत कात्तिक २० गते पहिलो पेशी थियो । तर विपक्षीका अधिवक्ता प्रधानले ७ जनाको मुद्दामध्ये श्रेया झाको बाहेक अन्य ६ जनाको मुद्दा अदालतले खारेज गर्ने भन्दै पत्राचार गरेका थिए ।

पत्रमा प्रधानले पीडितलाई कोर्ट फिका रुपमा ३० लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले यसले पीडितलाई अझ बढी असर गर्ने भन्दै बिचार पुर्याएर मात्रै काम गर्न सुझाव दिएका थिए ।

पीडितका तर्फबाट मुद्दा दायर गर्ने अधिवक्ता अमृत खरेलले विपक्षीका अधिवक्ता प्रधानले मुद्दामा सुनुवाई नहुँदै ५ दिन अगावै मुद्दा खारेज हुँदैछ भन्दै पत्र लेख्नु स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्न खोजेको बताए ।

अधिवक्ता प्रधानले धम्कीपूर्ण पत्र लेखेपछि पीडितहरुले मुद्दालाई कात्तिक २० गते स्थगित गर्न अदालतमा निवदेन दिएका थिए ।

‘मुद्दाको पहिलो पेशी हुनुभन्दा ५ दिन अगाडि नै कसरी उहाँलाई ७ जनामध्ये ६ जनाको मुद्दा खारेज हुँदैछ भन्ने थाहा भयो ? त्यसैले यसबारेमा बार काउन्सिल, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्छ,’ खरेलले सञ्चारकर्मीसँग भने ।

उनका अनुसार यो स्वतन्त्र न्यायापालिकालाई प्रभावमा पार्ने काम भयो, प्राकृतिक न्यायको सिद्दान्त विपरीत भएको छ ।

‘अदालतमा मुद्दा दर्ता भइसकेपछि पत्रचार गरी पीडितलाई अनुचित प्रभावमा पार्न खोजेको देखियो, यसले आचारसंहिताको समेत उल्लंघन गरेको छ’ अधिवक्ता खरेलले भने ।

खरेलले विपक्षी अधिवक्ता प्रधानले पत्र लेख्नुलाई व्यवसायिक मर्यादा र कानूनी व्यवसायीको पेशागत आचारसंहिता विपरीत गम्भीर चलखेल भएको समेत आरोप लगाएका छन् ।

अधिवक्ता प्रधानले गत नोभेम्बर १ मा पत्र लेख्दै श्रेया झा बाहेक अन्य ६ जनाको मुद्दा नोभेम्बर ६ मा हुने पहिलो पेशीमै जिल्ला अदालत काठमाडौंले खारेज गर्ने बताएका छन् । साथै, पीडितलाई कोर्ट फि वापत ३० लाख बुझाउनु पर्ने र यसले पीडितलाई अझ बढी मार पर्ने उल्लेख गरेका छन् ।

प्रधानले पत्रमार्फत् मुद्दा अदालतमा वर्षौसम्म रहने दाबी गर्दै अदालत बाहिर आपसी समझदारीमा टुंगो लगाउन समेत सुझाव दिएका छन् । अन्यथा यूएस बंगला कानूनी प्रक्रियाका लागि लड्न तयारी अवस्थामा रहेको समेत उल्लेख छ ।

उक्त दुर्घटनामा २०७४ फागुन २८ गते भएको थियो । बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्कने क्रममा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका थिए । दुर्घटना भएको मितिले २ वर्षभित्रमा अदालतमा मुद्दा दायर गर्ने हदम्याद रहन्छ । सोही अनुसार पीडितहरुले मुद्दा दर्ता गरेका थिए ।

पीडित परिवारले उनीहरुले जीवनभर कमाउने आय, पढाई खर्चलगायतका सबै कुराको मूल्यांकन गरी मुम्बईस्थित ग्लोवल रिस्क कम्पनीले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती निर्धारण गरेको थियो ।

उक्त कम्पनीको सोही क्षतिपूर्ती माग राख्दै पीडित परिवारले प्रति परिवार ३० करोड रुपैयाँ क्षतिपूर्ती पाउने गरी यूएस बंगलाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

पीडित परिवारले हालसम्म प्रति परिवार २० हजार डलर पाएका छन् । भने यूएस बंगलाले पीडित परिवारलाई प्रति परिवार ५० हजार डलरसम्म क्षतिपूर्ती दिन सक्ने बताउँदै आएको मृतक एञ्जिला श्रेष्ठका बुबा विदुरमान श्रेष्ठले बताए ।

मुद्दा दर्ता गर्नेमा मृतक एञ्जिला श्रेष्ठका पिता विदुरमान श्रेष्ठ, आस्ना शाक्यका पिता राजभाइ शाक्य, प्रिन्सी धामीका पिता मनोज धामी, निगा महर्जनका पिता दीपक महर्जन, निली महर्जनका पिता राजकुमार महर्जन, सञ्जय महर्जनका पिता श्यामकुमार महर्जन र श्रेया झाका पिता लक्षमण महर्जन छन् ।


पुष्प दुलाल