घर किन्न सस्तो ब्याजदरमै ऋण दिने नेपाल बैंकको घोषणा, निक्षेप राख्नेलाई ५० लाखको बीमा



काठमाडौं । के तपाईं बैंकबाट ऋण लिएर घर किन्ने वा बनाउने सोचमा हुनुहुन्छ ? हुनुहन्छ भने तपाईंका लागि खुसीको खबर छ ।

नेपाल बैंकले घर किन्न वा बनाउनका लागि सस्तो ब्याजदरमै ऋण दिने घोषणा गरेको छ । बैंकले आज (मंगलबार) शुलभ आवास कर्जा योजना नामक स्किम सार्वजनिक गर्दै सस्तो ब्याजदरमै आवास कर्जा दिने घोषणा गरेको हो ।

बैंकले तपाईंलाई कम्तीमा ८.८४ देखि बढीमा ९.९४ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने भएको छ । बैंकले बेस रेटमा १ देखि २ प्रतिशत प्रिमियम शुल्क लिएर ५ वर्षदेखि २० वर्षसम्मका लागि आवास कर्जा दिने जनाएको छ । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत छ ।

धेरै वाणिज्य बैंकको बेस रेट ८ प्रतिशतभन्दा बढी छ । जसकारण अन्य बैंकबाट ऋण लिँदा ब्याजदर केही महंगो पर्न जान्छ । त्यसैले तपाईंका लागि ऋण लिन नेपाल बैंक उपयुक्त हुनसक्छ ।

‘यो योजना अन्तर्गत ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, अरुले बनाएको घर किन्न, घर मर्मत/सम्भार तथा थप निर्माण गर्नका लागि ऋण लिन सक्नेछन्,’ बैंकले भनेको छ, ‘यो योजना अन्तर्गत बैंकबाट ऋण लिने ग्राहकले अग्रिम भुक्तानी शूल्य तिर्नुपर्ने छैन भने अन्य आकर्षक सुविधाहरुसमेत प्राप्त गर्न सक्नेछन् ।’

निक्षेप राख्नेलाई ५० लाखको बीमा

त्यसैगरी, बैंकले निक्षेपकर्तालाई आकर्षित गर्न ग्रिन सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले निःशूल्करुपमा एटीएम, भिसा र डेभिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै निःशूल्क मोवाइल बैंकिङ रजिष्ट्रेशन सुविधा, निःशूल्क एबीबीएस सुविधा, निःशूल्क इन्टरनेट बैंकिङ सुविधा, ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा, ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यो खाता खोल्न न्यूनतम २५ हजार रुपैयाँ मौज्दात लाग्नेछ भने ६.५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । त्यस्तै, एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्द शुल्क तिर्नुपर्ने छैन । उक्त योजना अन्तर्गत संकलित निक्षेपको रकम बैंकले नविकरणीय उर्जा तथा वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

बैंकले चालू आर्थिक वर्षको पहलो त्रैमासमा १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकल गरी ९८ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । ७३ जिल्लामा रहेका बैंकका १६७ वटा शाखा, २३ एक्सटेन्सन काउन्टर, १०२ एटीएममार्फत् करिब १७ लाख ग्राहकलाई बैंकि¥ सेवा उपलब्ध गराएको छ ।


पुष्प दुलाल