नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने, पूर्वाधार विकासमा लगानी गर्ने



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको ३८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको चुक्ता पूँजी २१ लाख ६० लाख रहेकोमा ३८ प्रतिशत सेयर वितरण गरी २९ करोड ८० लाख पुर्याउने भएको छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि २ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

गत आर्थिक वर्षमा क्लियरिङ हाउसमा १ करोड १७ लाख ५५ लाख ७२ वटा चेकको राफसाफ भएको थियो । अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४९ लाख ३१ हजार ९५० तथा कनेक्ट आइपिएस मार्फ १ लाख ८६ हजार ४१ वटा भुक्तानी कारोबार भएको थियो ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५÷७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७ हजार ४७९ रहेको थियो । जुन औसत दैनिक रकम ३६.८५ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ३ वटा शाखा कम्पनीले सेवा दिएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक १० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत तथा स्मार्ट स्वाइसको १० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु