अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड, एकै दिन भयो ३८ खर्बको कारोबार



काठमाडौं । विश्वको सबैभन्दा ठूलोमध्येको एक इ–कमर्स प्लेटफर्म अलिबाबाले एकै दिन सबैभन्दा बढी बिक्री हुने रेकर्ड कायम गरेको छ । सोमबार ‘सिंगल डे’का अवसरमा अलिबाबाले ३८ खर्बभन्दा बढी रुपैयाँका सामान बिक्री गरेको हो ।

अलिबाबाले बिक्री गरेको यो रकम गत वर्षको तुलनामा ८ खर्ब रुपैयाँ बढी हो ।

चिनियाँ समाजमा ‘सिंगल डे’लाई भव्यरुपमा मनाइन्छ । सिंगल डे प्रेम सम्बन्ध नभएका र जोडी नहुनेहरुका लागि लक्षित छ । जसलाई ‘एन्टी भ्यालेनटाइन डे’ पनि भनिन्छ ।

प्रेममा हुनेहरुले दिवसका रुपमा भ्यालेनटाइन डेलाई मनाए जस्तै एकलहरुले नोभेम्बर ११ मा सिंगल डे मनाउँछन् । नोभेम्बर वर्षको ११औं महिना र ११ गते हुँदा चार वटा १ भएकाले यसलाई सिंगल डेका रुपमा मनाइएको हो ।

यो वर्ष अलिबाबाले आफ्नो प्लेटफर्ममा २ लाखभन्दा बढी नयाँ ब्राण्डहरु राखेको थियो । अलिबाबा कम्पनीको नेपालमा समेत लगानी छ । नेपालमा सञ्चालित दराज अनलाइनमा अलिबाबाको लगानी छ ।


क्लिकमान्डु